गठबन्धन दलहरूबीचको एकता जसरी पनि जोगाउँछु : प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

गठबन्धन दलहरूबीचको एकता जसरी पनि जोगाउँछु : प्रधानमन्त्री प्रचण्ड


२२ माघ २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलहरूबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताएका छन् । 

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिए । सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले आफूले राष्ट्रिय सहमति नै गरेर अघि बढ्ने कुरा गरिरहेको उल्लेख गर्दै सत्ता साझेदार दलहरूबीचको एकतालाई जसरी पनि बचाउनुपर्छ भन्नेमा आफू रहेको बताए । त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग फेरि भेट गरी देखिएको समस्या तत्काल हल गर्ने उनको भनाइ थियो ।

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही असहजता भएको आफूले अनुभूति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले त्यस्ता अप्ठ्यारालाई छलफल गरी हल गर्ने बताए । उनले भने, ‘मैले उहाँहरूले गरेको पूरै निर्णय हेर्न पाएको छैन । भर्खरै सुने । मन्त्रीहरूबाहिर निक्लने विषयमा छलफल भइरहेको छ भन्नुहुन्थ्यो । फेरि हामी छलफल गर्छौँ । यसलाई हल गर्नेतिर नै जान्छौँ । राष्ट्रिय सहमति नै गरौँ भनी राखेको छु ।’

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग आज बिहान भएको भेटमा मन्त्रीहरू फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता नगर्ने बताएको पनि स्मरण गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस