कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण


२२ माघ २०७९, आइतबार


काठमाडौँ । कर्णाली प्रदेश अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल भएको छ । काठमाडौँ र सुर्खेतका चिकित्सकहरूको टोलीले २२ वर्षीय एक युवामा मिर्गौलाको प्रत्यारोपण गरेको हो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत प्रदेश अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको थियो । प्रत्यारोपण केन्द्रका डाक्टर पुकार चन्द्र श्रेष्ठ र प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोलीले बर्दघाट नगरपालिका-४, नवलपरासीका २२ वर्षीय युवाको मिर्गौला सफल प्रत्यारोपण गरेको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।

पछिल्लो समय अस्पतालमा मिर्गौलाका बिरामी बढ्न थालेको भए पनि जटिल अवस्थाका बिरामी कम आउने गरेको निर्देशक खड्काले बताए । 

अनुमति पाएको ३ महिनाभित्र मिर्गौला प्रत्यारोपण सुरु गरेको प्रदेश अस्पतालले सेवा नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ । मिर्गौला प्रत्यारोपण गर्नु परे काठमाडौँ नै धाउनुपर्ने बाध्यताबाट अब कर्णालीका नागरिक मुक्त हुने निर्देशक खड्काको विश्वास छ ।

अब सुर्खेतमा नियमित मिर्गौला प्रत्यारोपण गराउने खड्काले जानकारी दिए । 

उक्त सेवालाई निरन्तरता दिन अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता अभिवृद्धि गर्न तालिममा पठाइने अस्पतालले जनाएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म १ हजार ११ जनाको मिर्गौला र ९ जनाको कलेजो प्रत्यारोपण गरिएको डाक्टर पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस