अवैध संरचना हटाउँदै नगरपालिका « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

अवैध संरचना हटाउँदै नगरपालिका


२१ माघ २०७९, शनिबार


दैलेख । नारायण नगरपालिकाले नगर क्षेत्रभित्र रहेका अवैध संरचना हटाउँदै मुख्य सडक व्यवस्थित बनाउने अभियान सुरु गरेको छ ।

सार्वजनिक जग्गामा निर्माण गरिएका संरचनाहरू हटाउँदै व्यवस्थित पुनः निर्माण अभियान थालेको हो ।

नगरभित्रका सडक चौडा गर्ने, नाली व्यवस्थापन गर्ने तथा सडक पेटी भत्काउन सुरु गरिएको नगरपालिका प्रमुख लोमन शर्माले बताए । उनका अनुसार मालपोत कार्यालयदेखि नारायण मन्दिरसम्मको सडक स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालयले एक करोड रकम छुट्टाएको छ ।

‘सदरमुकामको बीच सडकलाई स्तरोन्नति गर्न नगरपालिकाले विभिन्न चरणमा दुई करोड ६० लाख छुट्टाएर काम गर्ने लक्ष्य लिएको छ’, उनले भने ।

बजार क्षेत्रको व्यवस्थित विकासका लागि नयाँ सडक निर्माण थालिएको वडा नं १ का वडाध्यक्ष शैलेश श्रेष्ठले जानकारी दिए । निर्माणको जिम्मेवारी लिएको कम्पनीलाई ताकेता गर्नुका साथै सदरमुकामका बासिन्दालाई खबरदारी पनि गर्नुपर्ने श्रेष्ठको सुझाव छ ।

यहाँ आउने आन्तरिक र बाह्य पर्यटकका लागि पनि व्यवस्थित सडक आवश्यक देखिएपछि तीन महिनादेखि नगर उपप्रमुख तप्त कुमारी थापाको संयोजकत्वमा टोली निर्माण गरिएको थियो ।

पहिलो चरणमा देवकोटा चौक, डेकेन्द्र चौकलगायत सदरमुकामका व्यस्त चोकहरूको व्यवस्थापन गर्ने र दोस्रो चरणमा सडक पेटी र घर टहरा भत्काएसँगै सडक पुनः पिच गर्ने नगरपालिकाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखसँगको समन्वयमा जिल्ला समन्वय समितिको भवन, बाल मन्दिरको भवन भत्काउने काम सुरु गरिएको नगरपालिका उपप्रमुख थापाले बताए ।

सदरमुकाममा वर्षातमा हिलो र हिउँदमा धुलोको समस्या अब हट्ने स्थानीयले अपेक्षा गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस