टीकापुर घटनामा सजाय भोगिरहेकालाई जेलमुक्त गराएरै छाड्छु : मन्त्री मोदी « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

टीकापुर घटनामा सजाय भोगिरहेकालाई जेलमुक्त गराएरै छाड्छु : मन्त्री मोदी


२० माघ २०७९, शुक्रबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले टीकापुर घटनामा पक्राउ परि जेल सजाय भोगिरहेका थारु नेतालाई जेलमुक्त गराएरै छाड्ने प्रतिबद्धता जनाएका छन्।

अधिकारका लागि भएका आन्दोलनमा पक्राउ परि मुद्धा खेपिरहेका र जेल जीवन बिताइरहेका थारुहरूको मुद्धा फिर्ता गराउन हर सम्भवको प्रयास गरिरहेको मन्त्री मोदीले बताए। 

‘टीकापुर घटनामा अदालतबाट दोषी करार भई जेल सजाय भोगिरहेकालाई जेलमुक्त बनाउन म प्रतिबद्ध छु। म धेरै बोल्दैन। यसको परिणाम तपाईँहरूले केही समयपछि पाउनुहुने छ,’ मन्त्री मोदीले भने। 

राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरमा आयोजित ‘सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलनको उद्घाटन गर्दै मन्त्री मोदीले अधिकार प्राप्तिका लागि भएका विभिन्न आन्दोलनले समेट्न नसकेपछि थारु समुदायले अधिकारका लागि समय–समयमा विद्रोह गरेको बताए।

‘२०१७, ०३६, ०४६, ०५२ र ०६२-६३ को जन आन्दोलन र परिवर्तनले समेत थारु समुदायको अधिकार स्थापित गर्न सकेन। थारु समुदायलाई राज्यले नै विद्रोह गर्न बाध्य पार्दै आएको छ,’ उनले भने। 

अधिकार प्राप्त भई नसकेकोले राजनीतिक र सांस्कृतिक अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने उनको भनाई थियो। राजनीतिक अधिकारसँगै सांस्कृतिक अधिकारका लागि थारु समुदाय उठ्नुपर्ने बेला भएको उनले बताए। 

संविधानमा थारु कलस्टरको व्यवस्था गरी पहिचान स्थापित गराएको बताउँदै उनले राष्ट्रिय निजामती सेवा ऐन ल्याएर थारुलाई थप अधिकार सम्पन्न बनाउने योजना रहेको उनले स्पष्ट पारे। 

Tags :
प्रतिक्रिया दिनुहोस