सहसचिवको सरुवा बढुवा प्रदेशबाटै, विवाह बिदा थप ! « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सहसचिवको सरुवा बढुवा प्रदेशबाटै, विवाह बिदा थप !


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । गण्डकी प्रदेशका कर्मचारीहरूले विवाह बिदा पाउने भएका छन् । निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सर्वसम्मतिले स्वीकृत भएसँगै कर्मचारीहरूले सो सुविधा पाउने भएका हुन् । 

बिहीबार गण्डकी प्रदेशसभाले प्रदेश सरकारबाट जारी भएका निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सर्वसम्मतिले स्वीकृत गरेको छ ।   

प्रदेश सरकारले पास गरेको उक्त विधेयकमा निजामती कर्मचारीले अब विवाह बिदा समेत पाउनेछन् । यसअघि भैपरी आउने र पर्व, बिरामी, अध्ययन, असाधारण, किरिया, प्रसूति, र प्रसूति स्याहार बिदा मात्रै रहेकोमा विवाह पनि थप भएको हो । 

अध्यादेश सदनबाट पारित भएसँगै सभामुख र प्रदेश प्रमुखबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशन भएपछि विधेयकले ऐनको रूप लिनेछ । ऐन आएपछि यसअघि सङ्घ सरकारले गर्दै आएको एघारौँ तह (सहसचिव) सम्मको कर्मचारीको सरुवा बढुवा र वृत्ति विकास मुख्यमन्त्री कार्यालय आफैँ गर्ने छ ।

 ‘अधिकृत एघारौँ तह(सहसचिव) वा सो सरहको कर्मचारीको सरुवा बढुवा प्रदेश सरकार अर्थात् मन्त्रिपरिषद्को बैठकमार्फत गर्न सक्नेछ,’ अध्यादेशमा उल्लेख छ । साथै अधिकृत दसौँ, नवौँ, आठौँ र सातौँ तह वा सो सरहका कर्मचारीको सरुवा प्रदेशको प्रमुख सचिवले गर्न सक्छ । 

अधिकृत छैटौँ तह र सोभन्दा मुनिका सबै कर्मचारीको सरुवा अधिकार सम्बन्धित मन्त्रालयका सचिवलाई अधिकार दिइएको छ भने अन्तर मन्त्रालयगत सरुवा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्नेछ ।  

Tags :
प्रतिक्रिया दिनुहोस