टुकुचा उत्खनन गर्ने अभियानमा उच्च अदालतले लगायो रोक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

टुकुचा उत्खनन गर्ने अभियानमा उच्च अदालतले लगायो रोक


१८ माघ २०७९, बुधबार


काठमाडौँ । उच्च अदालत पाटनले हात्तीसार क्षेत्रमा पर्ने टुकुचा उत्खनन गर्न डोजर चलाउने काठमाडौँ महानगरको अभियान रोक्न अन्तरिम आदेश दिएको छ।

लिखित फैसला भने बिहीबार आउने उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए । न्यायाधीशहरू महेश पौडेल र राज्यलक्ष्मी बज्राचार्यको इजलासले  बुधबार यस्तो निर्णय गरेको हो। 

हात्तीसार क्षेत्रका शारदा मानन्धर, किरण प्रकाश साखसहित २१ घरधनीले महानगरले आफ्नो घरजग्गामा डोजर चलाउन थालेपछि त्यसलाई रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दिएका थिए।

रिट निवेदकमध्ये कतिपयले राणाहरूबाटै किनेर नामसारी गरेको अनि भोग चलन गर्दै आएका थिए। कतिपयले भने राणाहरूको जग्गा सर्दै सर्दै आएका व्यक्तिबाट किनेका थिए।

आफूहरूले किनेर भोगचलन गरेकोमात्र होइन महानगरबाटै भवन निर्माणको इजाजत लिएर घर बनाएको, महानगरलाई तिरो तिरेको लगायत तथ्य देखाउँदै आफ्ना घरजग्गा सार्वजनिक नभई निजी रहेको जिकिर गरेका थिए।

हात्तिसारका स्थानीयले आफ्नो निजी सम्पत्तिमा महानगरले कानुनी रित प्रक्रिया नपुर्‍याइ डोजर चलाएको भन्दै रिट दायर गरेका थिए भने पुरातत्त्व विभागले पनि त्यो क्षेत्रमा अध्ययन गरेको थियो।

विभागले अध्ययन गरी निकालेको प्रतिवेदनमा आजभन्दा कम्तिमा १३० वर्षअघि निकै व्यवस्थित र वैज्ञानिक तरिकाले बनाइएको गुम्बज शैलीको भूमिगत सुरुङलाई महानगरको डोजरले तीन ठाउँमा क्षति पुर्‍याएको जनाइएको थियो। यो सुरुङको लम्बाइ ४४० मिटर छ। 

Tags :
प्रतिक्रिया दिनुहोस