संसद् भवन अगाडिको आत्मदाहले उब्जाएका प्रश्नहरू  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

संसद् भवन अगाडिको आत्मदाहले उब्जाएका प्रश्नहरू 


१७ माघ २०७९, मंगलबार


संसद् भवन अगाडि आफ्नो जिउमा पेट्रोल छर्केर आगो लगाउँदै दर्दनाक चिच्याहटसहित जनताको संवेदना आफूतिर तानेका प्रेम आचार्यको मृत्युले समाजमा बहस जन्माएको छ र केही प्रश्न चिह्न पनि खडा गरेको छ । आत्महत्याका कारण मानिसले आफ्ना ज्यान फाली राखेका छन् र धेरैको मृत्यु जानकारीमा आउँदैन तर प्रेमले आफ्ना समस्या सिलसिलेवार सार्वजनिक गरे, जुन समस्या सबै गरिखान खोज्ने आम नेपालीको समस्या हो तसर्थ सबैले आफूले भोगेको समस्या त्यस लेखाइमा देखे। 

गैर जिम्मेवार सरकार, जनताको समस्यासँग सरोकार नभएको सरकार, आफ्नै सरकारीतन्त्र माथि पनि नियन्त्रण नरहेको सरकार, गफका पुलिन्दा खडा गर्न जानेको सरकार भन्ने जुन हाम्रा राजनैतिक नेतृत्व र सरकारमाथि लाग्दै गरेको आरोप हो र त्यो सही पनि देखिन्छ । प्रधानमन्त्रीको कारकेड सामु आगो लगाएर चिच्याउँदै गरेका आचार्यले कारकेडको ध्यान आफूतिर तान्न सफल पनि भएनन् र गाडीमा रहेको आगो निभाउने साधन एउटा जन साधारणको ज्यान जोगाउन काम पनि लागेन । 

अगुवा गाडीले भिआइपीलाई सुरक्षित स्थानतिर लगे पनि पछाडि रहेको गाडीले त्यो धर्म निर्वाह गर्न सक्थेन र ? आत्मदाह गर्न अगाडी उनले सार्वजनिक गरेको वेदनाले उठाएका प्रश्न यसरी बुझ्न सकिन्छ जस्तो लाग्छ

ठुला व्यापारीको दबदबा

अहिले मध्यम र तल्लो स्तरका व्यापारी जसले अनौपचारिक अर्थव्यवस्था(इन्फर्मल)लाई असङ्गठित(अनअर्गनाइज्ड) तरिकाले भए पनि चलायमान गराई राखेका छन्, तिनीहरू माथि सरकारी, नगरपालिकाको डन्डा चली राखेको छ तर बाध्यता छ चलाउन । केही गरौँ भनेर कारोबार गर्नेलाई ठुला व्यापारीले गरेको थिचोमिचो र दिएको दुःख देखिन्छ । व्यापार फैलिन दिनु र उत्साहित गर्नुभन्दा पनि पैसा रोकेर, थर्काएर, सामान थन्काएर दिएको दुःखको वेदना देखिन्छ कतै यही कारण त कारक बनेन आत्महत्या गर्न ? अहिलेका व्यापारी राजनेता भएका छन् तसर्थ राजनीतिमा दबदबा राख्ने व्यापारीमा संवेदना हुँदो रहेनछ भन्ने प्रेम आचार्यको वेदनाले देखाउँछ ।

सरकारी नीति र जिम्मेवारी 

सरकारी नीति सहज गर्नुभन्दा पनि दुःख दिने मात्रै छ । नयाँ काम शुरु गर्दा हरेक कार्यालय चाहन्छ त्यो व्यक्ती उनीहरू कहाँ दाम चढाउन आओस्, दर्शन भेट गर्न आओस् । जनतालाई सहजता प्रदान गर्ने दायित्व कर्मचारीको होइन र जिम्मेवारी  पनि होइन भन्ने सोचले गरा गाडी सकेको छ । व्यापारी माथि थिचोमिचो गर्ने हाम्रो अधिकार हो र हैकम बनाई राख्नुपर्छ भन्ने सोचले काम गरी राखेको छ, जुन सर्वसाधारणको  केही गरौँ भन्ने सोचमा नुनचुक छर्ने काम मात्रै गरी राखेको छ । नयाँ काम शुरु गर्नु जोखिम पनि हुन्छ र त्यसमा कुनै तहमा बसेर समन्वय र सहयोग गर्ने जिम्मेवारी सरकारी तन्त्रको हो तर छ ठिक उल्टो देखिन्छ । 

मध्यम र निम्न स्तरका व्यापारीको दु:ख

देशको अर्थव्यवस्था धानेको र चलायमान गरेको राष्ट्रको ठुलो स्थान ओगट्ने मध्यमस्तरीय र निम्नस्तरीय व्यापारी हुन् । तिनको दुःख भनेको वडादेखि शुरु भएर सङ्घीय कार्यालयसम्म हुन्छ । त्यस्ता व्यवसायीलाई प्रोत्साहित गर्नुभन्दा पनि सरकारी निकायको काम भनेको दर्तादेखि नै हतोत्साहित गर्नु र हरेकचोटी सरकारी ढोका चहार्दा बेइज्जत र दुःख दिने बाहेक केही हुँदैन । देशको अर्थतन्त्रमा सहयोग पुर्‍याउने यो तहका व्यापारी व्यापारमा असफल भएपछि बिदेसिएका उदाहरण दैनिक हामीले सामाजिक सञ्जाल र नेपाली छापाले समाचार बनाई राखेको देखेका छौँ । तसर्थ सरकारले हस्तक्षेपकारी भूमिका अपनाएन भने र गुनासो व्यवस्थापनको व्यवस्था गरेन भने यसले देशको अर्थव्यवस्थालाई त असर गर्छ नै, जनमानसमा सरकार र सरकारलाई नै चलाउने व्यापारीप्रति नकारात्मकता बढ्दै जाने मात्रै हो ।

सुनुवाइ कसले गर्ने र उजुरी कहाँ गर्ने

अदालती प्रक्रिया जटिल र लामो हुन्छ । साना व्यवसायीको गुनासो छ गुनासो व्यवस्थापनका लागि मध्यस्तताको आवश्यकता हुन्छ र परिणाम छिटो दिनुपर्ने हुन्छ । यसको लागि सहज व्यवस्था बनाई दिनुपर्ने हुन्छ र जिम्मेवार तरीकाले सेवा उपलब्ध गराउने व्यवस्था बनाउनु पर्ने हुन्छ, यतातिर कसैको ध्यान पनि छैन र चासो पनि छैन । 

संवेदनहीनता

सरकारीसंयन्त्र संवेदनहीन भएका छन्, राष्ट्रप्रति जिम्मेवार पनि छैनन् र सुधारका लक्षण पनि देखिँदैन । यसले जनतालाई राजनीति र सरकारी संयन्त्रप्रति अविश्वास जगाउने हो र राज्यव्यवस्थाप्रति अविश्वास जगाउने हो र यसको असर भनेको ल्याकत भएकाहरू देशमा आफ्नो भविष्य नदेखेर बिदेसिने हुन्, जो जान सक्तैनन् उनीहरूमा व्यवस्थाप्रति विद्रोहको भावना खडा हुँदै जाने हो तसर्थ सरकारले नयाँ काम शुरु गर्नेलाई प्रोत्साहित र सुरक्षित गर्नेतर्फ संवेदनशील हुन आवश्यक छ।

बढ्दो आत्महत्या 

प्रहरीको तथ्याङ्क अनुसार पाँच वर्षमा आत्महत्याको तथ्याङ्क हो यो जसमा दैनिक २० को सरदरमा आत्महत्या गरेको देखिन्छ

२०७४/७५-५३१७

२०७५/७६-५७५४

२०७६/७७-६३४१

२०७७/७८-७११७

२०७८/७९-६७९२

विभिन्न कारण देखिन्छन् नेपालमा आत्महत्याका । जस्तै असफलता, विपन्नता, घरेलु समस्या, बिरामी, अवैध सम्बन्ध, घरेलु विवाद, दहेजलगायत विभिन्न कारण छन् । नेपालमा आत्महत्या बढ्दै गइराखेको छ र यस पछिका परिवारको दुःख र समस्या फेरि छुट्टै छन् । यस विषयमा सरकारले अनुसन्धान गर्नुपर्छ र त्यसपछि मात्रै समस्या थाहा हुन्छ र समस्या समाधानका बाटा पनि पहिल्याउन सहज हुन्छ । 

अन्तमा,  प्रेम आचार्यको आत्मदाहले नेपाली समाज उद्वेलित भएको छ र यो घटना प्रतिनिधित्व घटना हुन गएको छ। प्रेमले उठाएका विषय सबैले आफू र आफू परिवेशसँग जोडिएको महसुस गरेका छन् । केही गरौँ भनेकाको व्यवहारिक दुःख, सरकारी कर्मचारीले गरेका व्यवहार तथा ठुला माछाले साना माछासँग गरिने दुर्व्यवहार । सरकारले छानबिन समिति गठन पनि गरेको छ । र, सबैलाई थाहा छ विगतमा बनेका समिति जस्तै यो समिति पनि फगत झारा टार्नका लागि मात्रै हुने छ ।  

जनताले खोजेका कुरामा सुधार गर्नेतर्फ चासो र सरोकार होइन, यिनीहरूमा मुखले बोल्ने बाहेक केही गर्न सक्ने ल्याकत र आँट छ जस्तो पनि देखिँदैन । गरिखाने भुईंमान्छेका लागि जिम्मेवार हुनु पर्नेमा दलाल, गैर कानुनी काम गर्नेलाई संरक्षित गर्ने र तिनको बुईको सवारी गर्नमा मात्र व्यस्त देखिन्छ जनताको समाजवादी सरकार । समय छँदै ध्यान जाओस् अन्यथा जे गर्ने हो समयले गर्नेछ । 

Tags :
प्रतिक्रिया दिनुहोस