पुल छिटो बनाउन माग गर्दै उच्च अदालतमा रिट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पुल छिटो बनाउन माग गर्दै उच्च अदालतमा रिट


१६ माघ २०७९, सोमबार


काठमाडौँ । तीन बर्षमा सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु भएको बानेडुंग्रीसैनको मोटरेबल पुल आठ बर्ष ६ महिना हुँदा पनि नबनेपछि छिटो निर्माण गर्न आदेश माग गर्दै उच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

डोटीको शिखर नगरपालिका-१० बानेडुंग्रीसैनमा निर्माणाधीन उक्त पुलको काममा ढिला सुस्ती भएको भन्दै शिखर नगरपालिका-११ का स्थानीय रामहरि ओझाले सोमबार सिट निवेदन दर्ता गरेका हुन् ।

सार्वजनिक खरिद ऐन, २०६३ विपरीत पटक पटक सार्वजनिक खरिद नियमावली संशोधन गर्दै म्याद थप गर्दै गरेको, पुल निर्माणमा ढिलाइ हुँदा समेत निर्माण व्यवसायीमाथि कुनै कारबाही नभएको, निर्माण व्यवसायीले लापरबाही गरेकोले पुल निर्माण कार्य छिटो सम्पन्न गर्न परमादेश लगायत अन्य उपयुक्त आदेश माग गरिएको छ ।

रिट निवेदनमा सार्वजनिक खरिद ऐन विपरीत पटक-पटक नियमावली संशोधन गर्दै म्याद थप गराउने काम गरेको भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय काठमाडौँ, लामो समयसम्म पनि काम नहुँदा निर्माण व्यवसायीलाई कारबाही नगरेको भन्दै सडक डिभिजन कुलपाते डोटी, पुल निर्माण कार्य समयमै नगर्ने निर्माण व्यवसायी कम्पनी पप्पु-राजेन्द्र जेबी र पुल निर्माणका लागि आवश्यक समन्वय नगरेको भन्दै शिखर नगरपालिकालाई विपक्षी बनाइएको छ ।

रिट निवेदनमा पुल समयमै नबन्दा संविधानको धारा ४४ अनुसारको उपभोक्ताको हकको उपयोगबाट त्यस क्षेत्रका बासिन्दा वञ्चित भएको दाबी गरिएको छ ।

उच्च अदालत दिपायलले उक्त रिट निवेदनमा मङ्गलवार पेशी तोकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस