‘राष्ट्रपतिमा साझा व्यक्तित्वको खोजी गरौँ’   « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

‘राष्ट्रपतिमा साझा व्यक्तित्वको खोजी गरौँ’  


१६ माघ २०७९, सोमबार


काठमाडौँ ।  जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता, पूर्वमन्त्री एवम् सांसद राजकिशोर यादवले राष्ट्रपतिमा साझा व्यक्तिलाई अघि सार्नुपर्ने भन्दै दल विशेषको व्यक्तिलाई अघि सार्न नहुनेमा जोड दिएका छन् । विगतमा दलीय आधारमा राष्ट्रपति नियुक्त गर्दा कार्यकारीले गरेका निर्णय रोक्ने र उल्टाउने काम भएको भन्दै अब त्यस्तो गल्ती दोहोर्‍याउन नहुने उनको भनाई छ । 

उनले भने, ‘अहिले राष्ट्रपतिको निर्वाचनको विषयले हाम्रो राजनीति तातिएको छ । सबैको यसमा चासो बढेको छ। राष्ट्रपतिको बारेमा हामीले संविधान लेखि रहँदाखेरि यो अलांकारिक, राष्ट्रको साझा व्यक्तिको रूपमा खासगरी अभिभावकको रूपमा आफ्नो भूमिका निर्वाह गर्ने परिकल्पना गरेर नै संविधान लेखिएको हो । विगतमा दुईवटा राष्ट्रपतिका कार्यकालको रूपमा अनुभव बटुलेका छौँ । अहिले राष्ट्रपतिको बारेमा पार्टीहरुका बीचमा ध्रुवीकरण भएको छ, यो चर्चाको विषय बनेको छ । विगतमा राष्ट्रपतिहरुद्धारा आफ्नो अनुकुल संविधानलाई व्याख्या गरेर, आलांकारिक भन्दा पनि कुनै कुनै ठाउँमा कार्यकारीजस्तो भूमिका खेलेको देखियो । राष्ट्रपतिबारे दलीय ध्रुवीकरण भएको छ, यसमा दुईवटा कारण छ । पहिलो भनेको आफ्नो अनुकूलको राष्ट्रपति भयो भने, त्यही अनुकूल गराउने दृष्टिकोण छ । अर्को चाहिँ, राष्ट्रपति आफूभन्दा फरक विचारको भयो भने भोलि समस्या पार्ला कि भन्ने चिन्ता र चासो छ । अहिले अलिक बढी नै चर्चा या ध्रुवीकरण भएको छ ।’

यादवले आफूहरू राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति निर्वाचित गर्ने पक्षमा रहेको सुनाए । उनले थपे, ‘हामीले संविधानले परिकल्पना गरेजस्तो राष्ट्रपतिमा राष्ट्रिय सहमतिको आधारमा, र त्यो साझा व्यक्तित्वलाई निर्वाचित गर्न सक्यौँ भने त्यो पदको गरिमा पनि बढ्छ । संविधानको संरक्षकको रूपमा राष्ट्रपतिलाई परिकल्पना गरेका छौँ । साझा व्यक्ति ल्याउन सकियो भने त्यो न्याय हुन्छ । दलीय भागबण्डा भन्दा माथि उठेर संविधानलाई कार्यान्वयन गर्ने व्यक्ति ल्याउनुपर्छ । अहिले हाम्रो जुन कलिलो शिशु अवस्थामा रहेको व्यवस्थालाई परिष्कृत बनाउनको लागि पनि त्यतातिर सोच्नुपर्छ । लोकतान्त्रिक व्यवस्था आज दलतन्त्रमा फसेको छ । अहिले चिन्ता बढेको छ । व्यवस्थालाई समृद्ध र परिष्कृत बनाउन चाहेको हो भने राष्ट्रपतिमा साझा व्यक्तित्वको खोजी गरौँ ।’

यादवले राष्ट्रिय जीवनमा आफ्नो ठूलो लगानी गरेको र देशको अभिभावकको रूपमा सबैले स्वीकार गर्न सक्ने र सबै दलले स्वामित्व ग्रहण गर्न सक्ने व्यक्तित्वलाई राष्ट्रपति बनाउनुपर्ने धारणा राखे ।

Tags :
प्रतिक्रिया दिनुहोस