काठमाडौँ । चालु आर्थिक वर्ष साउनदेखि पुससम्म १७ अर्ब ३० करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव प्राप्त भएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार १३१ वटा उद्योगमा विदेशी लगानी प्रस्ताव गरिएको हो । जुन गत वर्षको अर्धवार्षिकको तुलनामा १३ अर्ब २६ करोडले कम छ ।
गत वर्ष सोही अवधिमा ३० अर्ब ५६ करोड रुपैयाँ विदेशी लगानीको प्रस्ताव थियो । विभागका अनुसार १ सय २९ वटा उद्योगमा लगानी प्रस्ताव प्राप्त भएको हो । चालु आर्थिक वर्षमा सबैभन्दा बढी १ सय १० वटा साना उद्योगमा विदेशी लगानी स्वीकृत भएको छ । यस्तै, मझौलामा १९ र ठुलामा २ वटा उद्योगमा विदेशी लगानी स्वीकृत भएको छ ।
उक्त उद्योगहरूमा ७ हजार ८ सय ४१ जनालाई रोजगार प्रस्ताव गरिएको छ । गत वर्ष सोही अवधिमा ८ हजार १ सय ४६ जनाका लागि रोजगार प्रस्ताव प्राप्त भएको थियो । देशमा हालसम्म ५ हजार ६ सय ६४ वटा विदेशी लगानी स्वीकृत हुँदा ४ खर्ब ३६ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको छ ।
विभागका अनुसार चालु वर्षमा पेटेन्टसमेत दर्ता भएको छ । हालसम्म ८१ वटा पेटेन्ट दर्ता भएको विभागको तथ्याङ्क छ ।