तीन महिनादेखि तलब नपाएको नगर प्रहरीको गुनासो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

तीन महिनादेखि तलब नपाएको नगर प्रहरीको गुनासो


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा नयाँ नगर प्रहरीले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।

प्रदेश निजामती कानुन नबनेका कारण नगर प्रहरी भर्ना गर्न नसकेको भन्दै महानगरले एक वर्षका लागि १६२ जना नगर प्रहरी राख्ने गरी युनिक सेक्युरिटी कम्पनीसँग ४ करोड ३२ लाख ४० हजारमा सम्झौता गरेको थियो ।

कम्पनीमार्फत गएका १३० जना नगर प्रहरीमा कार्यरत छन् । कम्पनीले पठाएका ३५ जनाभन्दा बढीलाई महानगरले अयोग्य भनेर फिर्ता पठाएको थियो । नगर प्रहरीका रूपमा काम गरिरहेकाहरूले पनि तलब र पोसाक नपाएको उनीहरूको गुनासो छ ।

सम्झौताअनुसार कम्पनीले मासिक २० हजार ५३२ दिनुपर्छ । भने पोसाक, चुस्ता, सिटी कड, रेनकोट, गमबुट, टर्च लाइट, ज्याकेट सबै महानगरले उपलब्ध गराउनेछ । तर न कम्पनीले तलब दिएको छ, न महानगरले पोसाक ।

एक नगर प्रहरी भन्छन्, ‘हामीलाई पोसाक, चुस्ता, बुट दिने भनेर भर्ती गरिएको थियो, तर फिल्डमा जाँदा नगर प्रहरीको नाममा एउटा खास्टो मात्रै दिइएको छ ।’ उनीहरू काठमाडौँ महानगरपालिका लेखिएको फ्लोर सेन्ट ज्याकेट लगाएर ड्युटीमा खटिने गरेका छन् ।

महानगरले सम्झौताअनुसार पोसाक उपलब्ध नगराएका कारण काम गर्न समेत गाह्रो भएको अर्का एक नगर प्रहरीले बताए ।

महानगर प्रहरीका प्रमुख राजु पाण्डेले भने करारमा नगर प्रहरी पठाउने कम्पनीलाई तुरुन्तै ड्रेसको व्यवस्था गर्न लगाउने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस