काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशका सचिवहरूलाई पुँजीगत खर्च बढाउने र चालु खर्च घटाउने निर्देशन निर्देशन दिएका छन् । बिहीबार मुख्यमन्त्री अधिकारीले सचिवहरूको बैठक बोलाएर यस्तो निर्देशन दिएका हुन् ।
गण्डकी प्रदेशको चालु आर्थिक वर्षको कुल बजेट ३५ अर्ब ९० करोड ९० लाख छ । चालु आर्थिक वर्षका ६ महिनामा १६।६२ प्रतिशत मात्र बजेट खर्च भएको छ । यसमा चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख, पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख र वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन भएको छ । त्यसमध्ये चालुतर्फ २१.९२ प्रतिशत खर्च हुँदा पुँजीगततर्फ १३.८२ प्रतिशत मात्र खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ हालसम्म खर्च भएको छैन । आगामी दिनमा पुँजीगत खर्च घटाउन मुख्यमन्त्री अधिकारीले निर्देशन दिएका हुन् ।
‘वित्तीय सुशासन र विकासको अनिवार्य सर्त हुन् । यस सवालमा अनावश्यक चालु खर्च घटाई पुँजीगत बजेट र खर्चको बढोत्तरीमा लाग्नुस्,’ मुख्यमन्त्री अधिकारीको निर्देशन छ ।
प्रदेशमा सुशासन कायम गर्न भाषण र नारामा सीमित नराखी काम गर्न उनले सुझाएका छन् । आर्थिक ऐन, नियम तथा कार्यविधिहरूको पूर्ण पालना गरी पुराना बेरुजुहरू फर्छ्यौट गरेर नयाँ बेरुजु हुन नदिने पहल गर्न पनि अधिकारीले सचिवहरूलाई निर्देशन दिएका छन् ।