वामदेव गौतम र भीम रावललाई पनि भित्र्याउने तयारीमा माधव नेपाल  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

वामदेव गौतम र भीम रावललाई पनि भित्र्याउने तयारीमा माधव नेपाल 


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले विभिन्न पार्टी र वामपन्थी नेताहरूलाई पार्टीमा भित्र्याउने अभियान नै चलाएको छ । केही समयअघि एमाले छाडेका घनश्याम भुसाललाई पार्टीमा भित्र्याएको सो पार्टीले निकट भविष्यमै अर्का नेता वामदेव गौतमलाई पनि भित्र्याउने तयारी थालेको हो ।

एकीकृत समाजवादीले माघ २१ र २२ गते महत्त्वपूर्ण निर्णय गर्न भन्दै केन्द्रीय कमिटी बैठक बोलाइसकेको छ । उक्त बैठकले यसअघि पार्टीका अन्य कमिटीले गरेका निर्णय अनुमोदनदेखि जसपालगायतका अन्य पार्टी र व्यक्तिहरूसँग भइरहेको एकता प्रयत्नको प्रगतिबारे थप निर्णय गर्नेछ । एकीकृत समाजवादी पछिल्लो समय माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमालेबाटै असन्तुष्ट रहेर अलग पार्टी बनाएका वामदेव गौतम लगायतसँग पनि निरन्तर संवादमा छ । उनीहरुबीच दस्ताबेज आदान प्रदान भएर न्यूनतम सहमतिको खोजी गर्ने काम भइरहेको नेताहरूको भनाइ छ । 

त्यस्तै सो पार्टीले गत मङ्सिरको निर्वाचनमा स्थानीय पार्टी कमिटीबाट सिफारिस भएर पनि केन्द्रले टिकट नदिएका एमाले नेता भीम रावलसँग पनि संवाद जारी राखेको छ । एक नेताका अनुसार अन्यसँग वार्ता टोलीमार्फत संवाद गरेको एकीकृत समाजवादीले रावलसँग भने अध्यक्ष माधव नेपाल आफैले संवाद जारी राखेका छन् ।

एकीकृत समाजवादीमा प्रवेश गरेका घनश्याम भुसाललाई सो पार्टीको पुस ३० गते बसेको सचिवालय बैठकले सचिवालय सदस्यको जिम्मेवारी दिएको थियो । उनलाई अब बस्ने बैठकले महासचिवको जिम्मेवारी दिने सम्भावना रहेको नेताहरूको भनाइ छ ।

एकीकृत समाजवादीले २१ गतेलाई बैठक बोलाएपछि नेता गौतमले समेत आफ्नो नेतृत्वमा गठन भएको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानको बैठक बोलाएका छन् । माघ २१ गते स्थायी कमिटी बैठक बोलाएको गौतमको सचिवालयले जनाएको छ । उक्त बैठकमा एकताबारे भइरहेको कुराकानीबारे छलफल गर्ने तयारी रहेको बुझिएको छ ।

यस्तै एकीकृत समाजवादीका नेताहरूका अनुसार वामदेव गौतम पार्टीमा समाहित हुन चाहे उनलाई वरिष्ठ उपाध्यक्ष दिने अध्यक्ष नेपालको तयारी छ । माधव नेपाल निकट स्रोतका अनुसार गौतम आए उनलाई कार्यकारी अधिकारसहित वरिष्ठ उपाध्यक्ष सम्म दिन सकिने अध्यक्षको बुझाई छ ।

नेपालले अर्का नेता घनश्याम भुसाललाई महासचिवको जिम्मेवारी दिने तयारी गरेका छन् । हाल महासचिव रहेका डा. बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर घनश्यामलाई महासचिव बनाउन सकिने अध्यक्ष नेपालले आफू निकट नेता कार्यकर्तासँग सङ्केत गरेका छन् । त्यस्तै भीम रावलसँग पनि कुरा मिले उनलाई समेत उपाध्यक्ष दिनुपर्ने अवस्थामा नेपाल छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस