धुर्मुस सुन्तली फाउन्डेसनको बिजुली काट्न पत्राचार « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

धुर्मुस सुन्तली फाउन्डेसनको बिजुली काट्न पत्राचार


११ माघ २०७९, बुधबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले धुर्मुस-सुन्तली फाउन्डेसनको काठमाडौँस्थित कार्यालयको बिजुली लाइन काट्ने भएको छ । चितवनको भरतपुर वितरण केन्द्रले बुधबार भरतपुरमा क्रिकेट रङ्गशाला बनाउँदा लिएको बिजुली सुविधाको बक्यौता महसुल असुलीका लागि काठमाडौँको प्राधिकरणको बानेश्वर वितरण केन्द्रमा पत्राचार गरेको छ ।

पत्रमा फाउन्डेसनको पुरानो बानेश्वरस्थित कार्यालयको लाइन काटेर बक्यौता असुलीमा गर्न अनुरोध गरिएको छ । फाउन्डेसनले ९ लाख ७४ हजार ७८० रुपैयाँ महसुल तिर्न बाँकी छ । पत्रमा ६ महिनादेखि फाउन्डेसन सम्पर्कविहीन भएको उल्लेख छ ।

७ महिनाअघि फाउन्डेसनले एक महिनाभित्रै बक्यौता तिर्ने प्रतिबद्धता जनाएको थियो । तर, फाउन्डेसनले बक्यौता नतिरेपछि ६ महिनाअघि रङ्गशालाको लाइन काटिएको थियो ।

भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंह पटक–पटक ताकेता गर्दा पनि फाउन्डेसनका सञ्चालक र पदाधिकारी सम्पर्कमा नआएकाले फाउन्डेसनका सबै कार्यालयहरूमा लाइन काट्न लागिएको बताएको छ । 

धुर्मुस सुन्तली फाउन्डेसनले क्रिकेट रङ्गशाला निर्माणका क्रममा करिब १८ करोड ऋण लागेको भन्दै परियोजनाबाट हात झिकेको छ । यस्तो ऋण तिर्ने कानुनी व्यवस्था नभएपछि सरकारले परियोजना जिम्मा लिएर निर्माण अघि बढाउने योजना समेत अलपत्र परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस