सातै प्रदेशबाट श्रम स्वीकृति दिन सुरु, प्रधानमन्त्रीद्वारा प्रशंशा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सातै प्रदेशबाट श्रम स्वीकृति दिन सुरु, प्रधानमन्त्रीद्वारा प्रशंशा


९ माघ २०७९, सोमबार


काठमाडौँ । सोमबारदेखि सातै प्रदेशका श्रम तथा रोजगार कार्यालयहरूबाट श्रम स्वीकृतिको कार्य सुरु भएको छ । काठमाडौँ केन्द्रित वैदेशिक रोजगारसम्बन्धी सबै प्रकारका सेवाहरू सोमबारदेखि सातै प्रदेशका श्रम तथा रोजगार कार्यालयबाट दिन थालिएको हो ।

आजदेखि धनगढी र सुर्खेतका श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाह हुन थालेका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले धनगढी र सुर्खेतबाट सेवा प्रवाहको शुभारम्भ गरेका छन् । यसअघि पुस २४ गते जनकपुर र विराटनगरबाट व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृतिको सुरुवात गरिएको थियो ।

धनगढी र सुर्खेतमा तयारी नपुगेको भन्दै केही दिनलाई पर सारिएको थियो । कर्मचारीहरूलाई तालिम दिने, आवश्यक स्रोत साधनको व्यवस्थापनको काम सकिएपछि आजदेखि वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाह गर्न थालिएको मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीले बताए ।

योसँगै अबदेखि वैदेशिक रोजगार कार्यालय ताहाचलका अतिरिक्त श्रम तथा रोजगार कार्यालयहरू विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीबाट सेवा प्रवाह गर्न थालिएको छ ।

श्रम तथा रोजगार कार्यालयहरूबाट अनलाईनमार्फत संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति सेवा प्रवाह हुने हुने सहायक प्रवक्ता उप्रेतीले बताए । श्रम स्वीकृतिका लागि समयमा नै अनलाइन आवेदन गर्न र श्रम स्वीकृति प्राप्त भएपछि मात्रै हवाई टिकट खरिद गर्न समेत मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

मन्त्रालयले आफ्ना सेवाहरू पेपरलेस, फेसलेस र क्यासलेस बनाउँदै लैजाने रणनीति बनाएको छ । मन्त्रालय तथा अन्तर्गतका निकायबाट प्रदान गरिने सेवालाई बढी पारदर्शी, व्यवस्थित एवं नागरिकमैत्रीका अतिरिक्त छिटो, छरितो र सूचना–प्रविधियुक्त बनाउँदै लगरिएको छ ।

पछिल्लो समय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफ्ना सेवाहरू प्रविधिसँग जोड्दै लगेको छ । बढी भिडभाड रहने वैदेशिक रोजगार कार्यालयलाई अनलाइन प्रणालीमा लगेसँगै नागरिकले पाउने सास्ती त कम भएको छ नै, बिचौलियाहरूको बिगबिगीसमेत कम हुँदै गएको छ । मन्त्रालयले अघि सारेको उक्त कार्यको प्रधानमन्त्रीले समेत प्रशंसा गरेका छन् । 

गत शुक्रवार वैदेशिक रोजगार व्यवसायी सङ्घको २९ औँ साधारण सभामा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सचिव एक नारायण अर्यालको खुलेरै प्रशंसा गरेका छन् । नीति निर्माण तहमा गरेका प्रयाससँगै प्रणालीको विकासमा गरेको योगदान क्रान्तिकारी कार्य भन्दै प्रधानमन्त्री दाहालले सचिव अर्याललाई धन्यवाद दिएका हुन् । 

सेवा प्रवाहमा तत्काल सुधार हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्नेक्रममा आजदेखि थप दुई वटा प्रदेशस्थित श्रम तथा रोजगार कार्यालयबाट रोजगारसम्बन्धी सेवा प्रवाह सुरु गरिएको हो । 

यससँगै सुधार नचाहने कतिपय म्यानपावर कम्पनी तथा सीमित कर्मचारीहरू अनलाइन प्रणालीलाई नै फेल गर्नसमेत लागि परेको देखिन्छ । वैदेशिक रोजगार सम्बन्धी सेवाहरूलाई क्रमशः अनलाइन प्रणालीसँगै बिकेन्द्रिकृतसमेत गर्न थालेसँगै सर्वसाधारण नागरिकलाई अनेकन् दुःख दिई लुट्न पल्केकाहरू अनेकन् दाउ खोजेर त्यसलाई भत्काउने दाउमा बसेको मन्त्रालय स्रोत बताउँछ । यसमा केही भ्रष्ट गलत प्रवृत्तिका कर्मचारीहरूले समेत साथ दिँदै आएका छन् । मन्त्रालयको बिकेन्द्रिकृत नीतिले सामान्य कामका लागिसमेत काठमाडौँ आउनु पर्दा अनावश्यक खर्चको कटौती मात्रै भएको छैन, अनेक थरी दलाल तथा भ्रष्ट कर्मचारीको जालोबाटसमेत सर्वसाधारणले उन्मुक्ति पाएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस