डा.दम्पतीको आठ दिनपछि सामूहिक दाहसंस्कार, बुबाले सकेनन् किरिया बस्न  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डा.दम्पतीको आठ दिनपछि सामूहिक दाहसंस्कार, बुबाले सकेनन् किरिया बस्न 


८ माघ २०७९, आइतबार


काठमाडौँ । पोखराको सेती खोँचमा भएको जहाज दुर्घटनामा परी निधन भएका पोखरा-४ गणेशटोल निवासी डाक्टर परिवारको सामूहिक दाहसंस्कार गरिएको छ ।

दुर्घटनाको आठ दिनपछि अस्पतालले परिवारलाई शव बुझाएपछि पोखरा सेती नदीस्थित तुल्सी घाटमा आज उनीहरूको सामूहिक दाहसंस्कार गरिएको हो । काठमाडौँबाट पोखरा आउने क्रममा जहाज दुर्घटनामा परी पोखरा-४ गणेश टोल निवासी एकै परिवारका ३८ वर्षीय डा.सुशील श्रेष्ठ, उनकी श्रीमती डा.सोना श्रेष्ठ र १५ महिने छोराको निधन भएको थियो ।

सेती नदीमा आइतबार डाक्टर दम्पतीलाई एउटै चितामा दागबत्ती दिइएको छ भने नाबालक छोराको व्रतबन्ध भइनसकेका कारण सेती नदीको किनारमा गाडिएको छ । सुशीलका बुबा मदनकाजी विभिन्न रोग र परिवारको चिन्ताका कारण किरिया बस्न सक्ने अवस्था नहुँदा एक ब्राह्मणलाई किरिया बस्न लगाइएको छ ।

तीन जनाकै शव क्षत-विक्षत अवस्थामा थिए । डा. सुशील दुई वर्षदेखि राष्ट्रिय ट्रमा सेन्टरमा अर्थोपेडिक सर्जनका रूपमा कार्यरत थिए । डा. सोना पनि एमडी गर्दै थिइन् । डा. सुशीलले काठमाडौँ मेडिकल कलेजबाट एमबीबीएस पढेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस