टाइगर प्यालेस रिसोर्टले अतिक्रमण गरेको सार्वजनिक जग्गा खाली गर्न आदेश « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

टाइगर प्यालेस रिसोर्टले अतिक्रमण गरेको सार्वजनिक जग्गा खाली गर्न आदेश


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । रुपन्देहीको तिलोत्तमा कोटिहवामा सञ्चालित पाँचतारे होटेल टाइगर प्यालेस रिसोर्टले अतिक्रमण गरेको सार्वजनिक जग्गा खाली गर्न अदालतले आदेश दिएको छ ।

रिसोर्टले मिचेको खाली जग्गा खाली गर्न माग गर्दै परेको रिटमा सुनुवाइ गर्दै जिल्ला अदालत रुपन्देहीले यस्तो आदेश दिएको हो । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश कृष्णमुरारी सिवाकोटीको एकल इजलासले सार्वजनिक जग्गा खाली गर्न आदेश दिएको इजलास सहायक सन्तोष कुमार मिश्रले बताए ।

उक्त रिसोर्टले तत्कालीन भैरहवा लुम्बिनी भूमिगत जल (भैलुभुज) परियोजनाको करिब २३ कठ्ठा सार्वजनिक जग्गा, राजकुलो तथा सार्वजनिक कुलो मिचेर संरचना बनाएको दाबीसहित त्यसलाई खाली गरी उक्त जग्गा पुनः सार्वजनिक प्रयोगमा ल्याउन माग गर्दै सियारी गाउँ पालिकाका अध्यक्ष एवं नेपाली काङ्ग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरेले मुद्दा दायर गरेका थिए ।

घिमिरेले लुम्बिनी नलकुप जल उपभोक्ता समितिको अध्यक्षको हैसियतले जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेका थिए । हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिले ५ अर्ब रुपैयाँ बढी लगानी गरी २०७४ सालदेखि रिसोर्ट सञ्चालनमा ल्याएको थियो।

१५ बिगाहा क्षेत्रफलमा फैलिएको रिसोर्टले सरकारी र सार्वजनिक जग्गा मिचेर विभिन्न संरचना बनाएको आरोप छ । विदेशीबाट उक्त रिसोर्ट खरिद गर्न चौधरी ग्रुप र रुपन्देहीको भुसाल ग्रुपबीच प्रतिस्पर्धा थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस