एमालेबाट सभामुखमा घिमिरे उम्मेदवार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमालेबाट सभामुखमा घिमिरे उम्मेदवार


४ माघ २०७९, बुधबार


काठमाडौँ । सत्ता साझेदार दलका तर्फबाट प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरेले उम्मेदवारी दिने निश्चित भएको छ ।

एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपाका नेताबीच भएको यसअघिको सहमतिअनुसार घिमिरेलाई सभामुखको उम्मेदवार बनाउन लागिएको एमाले उपाध्यक्ष नेता सुवास नेम्वाङले बताए ।

घिमिरे झापा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। प्रतिनिधि सभाको सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ। आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्ने संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ।

प्रतिनिधि सभाका कुनै सांसदलाई सभामुख पदमा निर्वाचन गरियोस् भन्ने प्रस्तावको सूचना दर्ताका लागि संघीय संसदको ल्होत्से हल तोकिएको छ। आजै सवा चार बजे निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारको सूचना दर्ता क्रम अनुसारको सूची प्रकाशन गरिने संसद सचिवालयले जनाएको छ।

प्रतिनिधि सभाको सभामुख चयन गर्न बिहीबार ११ बजे निर्वाचन हुने भएको छ। बिहीबार ११ बजे सुरु हुने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र समर्थकले समर्थन गर्ने तथा उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल गरी निर्णयार्थ पेस हुने संघीय संसदका महासचिव डा.भरतराज गौतमले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस