जाँचबुझ समितिले सरकारलाई बुझाएका प्रतिवेदनको कार्यान्वयनमा हेलचक्र्याइँ नगरौँ : रिमाल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जाँचबुझ समितिले सरकारलाई बुझाएका प्रतिवेदनको कार्यान्वयनमा हेलचक्र्याइँ नगरौँ : रिमाल


२ माघ २०७९, सोमबार


काठमाडौँ। नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आइतबार भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै जाँचबुझ समितिले सरकारलाई बुझाएका प्रतिवेदनहरूको कार्यान्वयनमा हेलचेक्र्याइँ गर्न नहुने बताएका छन् ।

उपमहासचिव रिमालले हरेक पटक विमान दुर्घटनापछि जाँचबुझ समिति बनाइए पनि समितिले बुझाएका प्रतिवेदनहरूको कार्यान्वयन हुन नसक्दा यस किसिमका दुर्घटनाहरू भइरहेको बताए । उनले अब पनि विज्ञहरूले बुझाएको प्रतिवेदनको कार्यान्वयन नगर्ने हो भने सर्वसाधारणहरू विमानमा चढ्दा मर्छु की बाँच्छु भन्ने स्थितिका बीच यात्रा गर्न बाध्य हुने बताए ।

‘जाँचबुझ समितिले निकालेको निष्कर्षप्रति सरकार र सम्बन्धित निकायहरू कति इमान्दार छन् भन्ने प्रश्न आम मानिसमा रहेको छ’ उनले भने, ‘सरकार र सम्बन्धित निकायहरूले विज्ञहरूले बुझाएको प्रतिवेदन अव्यवहारिक र गलत भए भन्न सक्नुपर्ने तर प्रतिवेदन बुझेर कार्यान्वयन गर्ने नभई थन्क्याएर राख्ने परम्पराको अन्त्य हुन आवश्यक छ ।’

उनले दिएका रिपोर्ट कति अवलम्बन गरिए भन्ने सन्दर्भमा जनताले प्रश्न उठाइरहेको भन्दै यसको सम्बोधन गर्ने बेला भइसकेको बताए । उपमहासचिव रिमालले सम्बन्धित निकायले जाँचबुझ समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन नगर्ने हो भने अन्तर्राष्ट्रिय स्तरमा पनि बदनाम हुने बताए ।

काठमाडौँबाट पोखरा उडेको यती एयरलाइन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस