बागमती प्रदेशमा उपसभामुख चयन आज « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बागमती प्रदेशमा उपसभामुख चयन आज


२ माघ २०७९, सोमबार


हेटौँडा । बागमती प्रदेशको उपसभामुखका लागि आज (सोमबार) निर्वाचन हुँदैछ। 

दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा उपसभामुखको लागि निर्वाचन हुन लागेको हो । आज बस्ने प्रदेशसभा बैठकमा उपसभामुखको लागि मत विभाजन हुने प्रदेशसभा सचिवालयले जनाएको छ। शुक्रबार निर्वाचन प्रणाली मार्फत नै सभामुख चयन गरेको बागमतीमा उपसभामुखको निर्वाचन तालिका सार्वजनिक भएको थियो। 

उपसभामुखका लागि तीन जनाको उम्मेदवारी शुक्रबार नै दर्ता भइसकेको छ। सत्ता गठबन्धनबाट एमालेकी अप्सरा चापागाईं, कांग्रेसकी सुना परियार र नेपाल मजदुर किसान पार्टीकी रिता काफ्लेले उपसभामुखमा उम्मेदवारी दर्ता गराएका छन्। ७ दलीय गठबन्धनको सत्ता भागबण्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा र उपसभामुख एमालेको भागमा परेको थियो। राप्रपाका भुवन पाठक सभामुखमा निर्वाचित भइसकेका छन्। 

उपसभामुख पनि गठबन्धनकै भागमा पर्ने लगभग निश्चित जस्तै छ। तर  संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले उपसभामुखको पनि उम्मेदवार उठाएको छ।  

११० सदस्यीय बागमती प्रदेश सभामा ७ राजनीतिक दलको नेतृत्व छ। प्रदेशसभाको ५ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा सहित एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी पनि सरकारलाई समर्थन गर्दै गठबन्धनमा मिसिएको छ। कांग्रेस प्रमुख प्रतिपक्षमा छ भने नेमकिपा पनि प्रतिपक्षमा छ।

Tags :
प्रतिक्रिया दिनुहोस