जनक शिक्षाको १३ वटा ट्रक प्रहरीको नियन्त्रणमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जनक शिक्षाको १३ वटा ट्रक प्रहरीको नियन्त्रणमा


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्रको कागज लोड गरिएको १३ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई निःशुल्क वितरण गरिने पुस्तक छाप्न वीरगन्जबाट ल्याएको भनिएको ट्रकमा सम्झौता विपरीत कम गुणस्तरको कागज ल्याएको आरोप छ । भक्तपुरको सानोठिमीस्थित सामग्री केन्द्रको कम्पाउन्ड भित्र ३ वटा र कम्पाउन्ड बाहिर ९ वटा कागज लोड भएको ट्रक प्रहरीले होल्डमा राखेको छ । सरोकार राख्नेहरूले दिएको सूचनाको आधारमा ट्रकहरू होल्ड गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

जनक शिक्षामा कागज सप्लाई गर्ने जिम्मा वीरगन्जस्थित दुर्गा पेपर मिल र एभरेस्ट पेपर मिलले पाएका छन् । ती कम्पनीले पाठ्यपुस्तक छाप्न प्रयोग गरिने कागज कमजोर गुणस्तरको सप्लाई गरेको उजुरी परेपछि पाठ्यक्रम विकास केन्द्रले अनुगमन गरेको थियो । अनुगमनको क्रममा ९४ जिएसएम भन्दा माथिको कागज सप्लाई गर्ने सम्झौता भएको तर, ती कम्पनीले ७० जिएसएमको कागज सप्लाई गरेको भेटिएको पाठ्यक्रम विकाश केन्द्रका एकजना अधिकृतले बताए । अनुगमन पछि पाठ्यक्रमले कम गुणस्तरका कागज फिर्ता गरेर सम्झौता अनुसारकै कागज ल्याउन भनेको थियो । तर, कागज कम्पनीले त्यहाँबाट फिर्ता लगेको कागज केही दिन मनोहरा खोला छेउको ग्यारेजमा राखेर पुनः त्यही कागज जनक शिक्षाको कार्यालयमा अनलोड गर्न लगेको आरोप छ ।

सम्झौताअनुसार कागजको गुणस्तर ९४ जिएसएम र ‘ब्राइटनेश’ हुनुपर्छ । तर, जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल झासँग मिलेर कागज कम्पनीहरूले सम्झौता अनुसार ९४ जिएसएमकै भुक्तानी लिएर कम गुणस्तरको कागज सप्लाई गरेको आरोप छ । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस