तरकारी खेतीबाट मनग्य आम्दानी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

तरकारी खेतीबाट मनग्य आम्दानी


२८ पुस २०७९, बिहिबार


ढोरपाटन । बागलुङ नगरपालिका-३ बोक्सेका मोतीलाल सापकोटा ७४ वर्ष पुगे। उमेरले बुढ्यौली लागे पनि उनमा काम गर्ने जोस, जाँगर र उत्साह भने युवाको भन्दा कम छैन । सापकोटाले व्यावसायिकरुपमा तरकारी खेती सुरु गरेको ३१ वर्ष भयो । उनको तरकारी खेतीप्रतिको लगाव उत्साहप्रद छ ।

तरकारी खेतीबाट सापकोटाले लाखौँ रुपैयाँको सम्पत्ति जोडिसकेका छन् । उनले छ भाइबहिनी, छोराछोरी हुर्काउने, पढाउने र विवाहसमेत तरकारी खेतीकै आम्दानीले गरे । बिहानै उनी बागलुङ बजारमा तरकारी बिक्री गर्न आउछन् । ‘मसित पुर्ख्यौली सम्पत्ति थिएन, वर्षौँ अरूको घरमा बसेर काम गरेँ, तरकारी खेतीमा लागेपछि घर सम्पत्ति जोडेँ’, सापकोटाले भने ।

पहिला तरकारी खेती गर्ने चलन थिएन । उत्पादन भएको तरकारी पनि बिक्री हुँदैनथ्यो । ‘अहिले उत्पादन गरेको सबै बिक्री हुन थालेको छ, बजारमा तरकारीको माग बढ्दै गएको छ’, उनले भने । ‘हातखुट्टा चल्दासम्म तरकारी उत्पादन गर्छु’, उनले भने । रु तीन लाखदेखि रु पाँच लाखसम्म वर्षमा तरकारी बिक्रीबाट कमाइ हुने गरेको सापकोटाको भनाइ छ । तरकारी खेतीले सापकोटा परिवारको जीवनशैली नै बदलिएको छ । बिहान तरकारी बेच्न बजार पुग्ने र दिउँसो साँझ बारीमा काम गर्ने आफ्नो दैनिकी भएको सापकोटाले बताए ।

कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनले सापकोटालाई समय-समयमा अनुदानसँगै प्राविधिक सहयोग गर्दै आएको बताए । उनलाई नयाँ प्रविधिसँग जोड्नका लागि तालिम, परामर्श र सुझाव दिँदै आएको पुनको भनाइ छ । कृषि ज्ञान केन्द्रले गत वर्ष उनलाई रु दुई लाख अनुदानसमेत दिएको पुनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस