बागमतीमा सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता आज « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बागमतीमा सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता आज


२८ पुस २०७९, बिहिबार


काठमाडौँ । बागमती प्रदेशसभाको सभामुख र उपसभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । आज बिहान साढे १० बजेदेखि उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सत्ता गठबन्धनको तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक सभामुख पदको उम्मेदवार बन्ने भए पनि गठबन्धन इतरको उम्मेदवार भने टुङ्गो लागिसकेको छैन । सत्ता गठबन्धनबीच मुख्य पदहरू भागबण्डा गर्दा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमति भएको थियो । राप्रपाले बुधबार पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार साढे दुई बजेदेखि साढे तीन बजेसम्म उम्मेदवारी फिर्ता लिने र लगत्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । निर्विरोध भए पनि वा एक जनाभन्दा बढीको उम्मेदवारी परे पनि २९ गते प्रदेश सभाको बैठक बोलाउने र सोही दिन निर्वाचन गरेर परिणाम सार्वजनिक गर्ने तयारी छ ।

प्रदेशसभा नियमावली २०७४ मा पहिले सभामुखको निर्वाचन गरिसकेपछि मात्रै उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका सात, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ गरी ११० जना सांसद छन् । सभामुख निर्वाचित हुन ५१ प्रतिशत मत पाउनुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस