प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२७ पुस २०७९, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

धनुषको सबैला नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बालवीर ठाकुर, धनुषाको सबैला नगरपालिकाका सव–इन्जिनियर, निर्माण सेवाका प्रोप्राइटरसमेत ५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरिएको हो ।

जिल्ला धनुषा सबैला नगरपालिका वडा नं. ५ मा आ.व. २०७७-७८ मा सञ्चालन भएको योजनाहरूमध्ये सबैला नगरपालिका वडा नं. ६ मखन टोलमा विनोद यादवको घरदेखि रितलाल यादवको घर हुँदै भुल्ला कापरको घरसम्म माटो तथा ग्राभेल कार्यको योजनामा फिल्डमा कम परिमाणको कामलाई बढी काम भएको नापी किताब तयार गरी मूल्याङ्कन गरेको तथा ठेक्का बिल र कार्य सम्पन्न प्रतिवेदनसमेत गलत लिखत तयार गरी भुक्तानीका लागि सिफारिस गरेको, लागत अनुमानको परिमाणमा कार्य सम्पन्न गर्नुपर्नेमा ठेकेदारले सो गर्न नसकेको, योजनाको भुक्तानीको सिफारिस गर्दा कम परिमाणको कार्यलाई प्राविधिक मापदण्ड अनुसार सम्पन्न भएको भनी वडा अध्यक्षले भुक्तानी सिफारिस गरी सरकारी रकम हिनामिना गर्ने कार्यमा भूमिका खेलेको, कम लागत अनुमानका टुक्रे योजना बनाई कार्यान्वयनमा लापरवाही गर्ने तथा फिल्डमा गरेका कार्यभन्दा बढी मूल्याङ्कन गराउने कसुर गरी भ्रष्टाचारजन्य काम गरेको अख्तियारको ठहर छ ।

उक्त भ्रष्टाचार कसूरमा संलग्न रहेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ठाकुर, तत्कालीन इन्जिनियर रञ्जित कुमार यादव, सब-इन्जिनियर रञ्जित कमर, तत्कालीन वडा अध्यक्ष देवेन्द्र प्रसाद यादव र राहुल निर्माण सेवा जनकपुरका प्रोप्राइटर पुरुषोत्तम दास यादवविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस