अस्पतालको भवन नबन्दा सेवा प्रभावित « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

अस्पतालको भवन नबन्दा सेवा प्रभावित


२७ पुस २०७९, बुधबार


म्याग्दी । म्याग्दीको बेनी अस्पतालको भवन निर्माणमा भएको ढिलाइले सेवा प्रभावित भएको छ । तीन वर्षअघि निर्माण सकिनुपर्ने ५० शय्या क्षमताको अस्पताल भवनको हालसम्म ६० प्रतिशत मात्र भौतिक प्रगति छ । छ वर्षअघि भवन निर्माण सुरु भएको थियो ।

तेस्रो पटक थपिएको म्याद सकिन चार महिना बाँकी रहँदा व्यवसायीले दुई वर्षदेखि सुस्ताएको भवन निर्माणको काम अघि बढाएको छैन । बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले भवन निर्माणमा भएको ढिलाइका कारण सेवा प्रवाहमा समस्या भएको बताए ।

‘पचास शय्या क्षमता भए पनि १५ शय्याको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छौँ’, उनले भने, ‘पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ । भवन नहुँदा उपकरण व्यवस्थापन प्रभावित भएको छ । विशेषज्ञ चिकित्सक आएका छैनन् ।’ स्थानीय तह, जिल्ला, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधि, स्थानीय प्रशासन, आयोजनाका साथै विभाग र मन्त्रालयमा पुगेर अस्पताल व्यवस्थापन समितिका पदाधिकारीले दबाब दिएका छन् ।

सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले विसं २०७३ मङ्सिर २१ गते भवन निर्माणका लागि महादेव खिम्ती-गल्वा-रफिना जेभीसँग रु १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो । रु २४ करोड चार लाख २९ हजार आठ सय ६९ लागत अनुमान गरिएको थियो । हालसम्म रु १० करोड ९२ लाख २७ हजार छ सय १४ भुक्तानी भएको आयोजनाले जनाएको छ ।

विसं २०७६ मङ्सिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । चार हजार नौ सय ६३ वर्ग मिटर क्षेत्रफलमा बनाउन लागिएको चारतले तीन वटा भवन निर्माणको हालसम्म ६० प्रतिशत भौतिक प्रगति भएको छ । तीन तला ढलान र प्लास्टर भइसकेको भवनमा टायल राख्ने, रङ रोगन, विद्युत्, पानी र फर्निचर जडानलगायतका काम बाँकी छन् ।

आयोजना प्रमुख सुनिता श्रेष्ठले समग्रमा ६० प्रतिशत र भवनको मात्र ७० प्रतिशत भौतिक प्रगति भएको यो योजनाको अन्तिम तथा तेस्रो पटक थप भएको म्याद २०८० जेठ २४ गते सकिने बताए । ‘पटक-पटक मौखिक र लिखित रूपमा ताकेता गरिएको छ’, उनले भने, ‘पर्याप्त जनशक्ति परिचालन र निर्माण सामग्री जुटाएर कामलाई तीव्रता नदिए ठेक्का तोड्ने चेतावनी दिएका छौँ ।’

महादेव खिप्तीका सञ्चालक निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह छन् । यो भवन बनाउने जिम्मेवारी रविन जोशीले लिएका थिए । सार्वजनिक खरिद ऐनको पछिल्लो संशोधन र कोरोनाका कारण देखाएर तेस्रो पटकसम्म म्याद थप भएको हो । आयोजनाले पत्र पठाएको र म्याद थप गर्नुपर्ने समयमा केही मजदुर ल्याएर काम गराउने निर्माण व्यवसायी अन्य समयमा सम्पर्कविहीन हुने गरेका छन् ।

नयाँ भवन बनाउन अस्पतालको पुरानो भवन भत्काइएको थियो । बहिरङ्ग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ । आकस्मिक र अन्तरङ्ग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ ।

सघन उपचार कक्ष (आइसियु) र डायलिसिस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ । पन्ध्र शय्या क्षमताको अस्पताल विसं २०७२ मा पचास शय्यामा स्तरोन्नति भएको थियो । भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गतामैत्रीसमेत हुनेछ । भुइँतलामा मोर्टुअरी, किचन, पहिलो तलामा इमर्जेन्सी, ल्याब, रेडियोलोजी, पहिलो तलामा अप्रेसन थिएटर, बहिरङ्ग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस