सुदूरपश्चिममा नागरिक उन्मुक्तिद्वारा एमालेसँग लिखित प्रतिबद्धता माग  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुदूरपश्चिममा नागरिक उन्मुक्तिद्वारा एमालेसँग लिखित प्रतिबद्धता माग 


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार गठन गर्न नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ लगायतका मुद्दामा लिखित प्रतिबद्धता मागेको छ ।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीले प्रदेश सरकार गठनमा समर्थन गर्ने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताउँदै पार्टीले उठाएका माग मुद्दाका विषयमा लिखित प्रतिबद्धता दिनुपर्ने माग अघि सारिएको जानकारी दिए ।

पार्टीका संस्थापक रेशम चौधरीलाई डिल्लीबजार कारागारमा भेटेर फर्किएका उनले सोमबार रातिसम्म विभिन्न कोणबाट छलफल जारी रहने बताए । 

चौधरीले पार्टीले उठाएका माग मुद्दा सम्बोधन गर्ने विषयमा लिखित प्रतिबद्धता नआएमा प्रतिपक्षीमा बस्ने बताए ।

तर नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधिसभाका प्रमुख सचेतक गङ्गाप्रसाद चौधरीले भने अहिलेकै गठबन्धनको नेतृत्वमा सुदूरपश्चिम प्रदेश सरकार गठन हुने र त्यसमा आफ्नो पार्टीले बाहिरै बसेर समर्थन गर्ने बताए ।

उक्त पार्टीका प्रवक्ता दामोदर पण्डित भने पार्टीको शीर्ष नेतृत्वबाट सुदूरपश्चिम प्रदेश सरकारका सम्बन्धमा हालसम्म कुनै निर्देशन प्राप्त नभएको बताउँछन् ।

सुदूरपश्चिम प्रदेशमा अहिलेको अवस्थामा नागरिक उन्मुक्ति पार्टी सरकार गठनका लागि निर्णायक शक्ति देखिएको छ । ७ जना प्रदेशसभा सदस्यसहितको प्रतिनिधित्व रहेको यो पार्टीले एमाले नेतृत्वको गठबन्धनलाई समर्थन नगरेको अवस्थामा सरकार बन्ने देखिँदैन ।

तर प्रदेश सरकारको नेतृत्व गर्ने तयारीमा रहेको नेकपा एमाले भने नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्नेमा ढुक्क देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस