विश्वासको मत दिनेबारे निर्णय गर्न धुम्बाराहीमा कांग्रेस बैठक सुरु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

विश्वासको मत दिनेबारे निर्णय गर्न धुम्बाराहीमा कांग्रेस बैठक सुरु


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने बारे निर्णय गर्न नेपाली कांग्रेसको पदाधिकारीसहित शीर्ष नेताहरूको बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहान साढे ८ बजेदेखि नेताहरू छलफलमा जुटेका हुन् ।

बैठकमा देउवासहित दुई उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्री, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइरालालगायत नेताहरू सहभागी छन् । प्रधानमन्त्री प्रचण्डले आज नै संसद्मा विश्वासको मत लिने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड सोमबार साँझ देउवा निवास पुगेर कांग्रेसलाई विश्वासको मत दिन आग्रह गरेका थिए । सो भेटमा देउवाले पार्टीमा छलफल गरेर यसबारे निर्णय गर्ने जवाफ प्रचण्डलाई दिएका थिए । कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन तोडेर प्रधानमन्त्री बनेका प्रचण्डलाई विश्वासको मत दिनेबारे कांग्रेसका नेताहरू विभाजित रहेका छन् । तर, पार्टीभित्र ‘विश्वासको मत दिनुपर्छ’ भन्नेहरूको मत बलियो रहेको छ ।

यसअघि देउवा सरकारमा अर्थमन्त्री रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पनि देउवा र पौडेललाई भेटेर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस