ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकहरू राष्ट्रपति भवन र संसदमा छिरेर तोडफोड « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकहरू राष्ट्रपति भवन र संसदमा छिरेर तोडफोड


२५ पुस २०७९, सोमबार


काठमाडौँ । ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकको भिड राष्ट्रपति भवन र संसदमा प्रवेश गरेको छ । बोल्सोनारोका हजारौँ समर्थक संसद् भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेका हुन् । उनीहरूले देशको सर्वोच्च लोकतान्त्रिक संस्थामा तोडफोड समेत गरेका छन् ।

ब्राजिल फुटबल टिमको जर्सी लगाएका हजारौँ प्रदर्शनकारीले हातमा झण्डा लिएर संसद् भित्र प्रवेश गरेका र उनीहरूले सभामुखको कुर्सीमा चढेर प्रदर्शन गरेका बीबीसीले जनाएको छ । कतिपय संसद्को छतमा चढेका छन् । यस्तै, कतिपयले तोडफोड गरेका छन्, संसद्को झ्याल फुटाइएको छ ।

ब्राजिलका राष्ट्रपति लुला डा. सिल्भाले घटनाको भर्त्सना गरेका छन् । गएको अक्टोबरमा भएको राष्ट्रपतीय चुनावमा बोल्सोनारोलाई लुला डा.सिल्भाले पराजित गरेका थिए । त्यसपछि बोल्सोनारोका समर्थकले चुनावी परिणामहरू अस्वीकार गर्दै आएका छन् ।

यसैबीच घटनाको अमेरिकी राष्ट्रपति जो बाइडेन र विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि भर्त्सना गरेका छन् । यसअघि अमेरिकामा सन् २०२१ को जनवरी ६ तारिखमा यस्तै घटना भएको थियो । तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी क्यापिटलमा प्रवेश गरेर हिंसा मच्चाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस