६० सांसदको समर्थनसहित प्रदेश १ को मुख्यमन्त्रीमा कार्कीले गरे दाबी पेस « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

६० सांसदको समर्थनसहित प्रदेश १ को मुख्यमन्त्रीमा कार्कीले गरे दाबी पेस


२४ पुस २०७९, आइतबार


काठमाडौँ । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम ६० जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष दाबी पेस गरेका हुन् ।

प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज बेलुका ५ बजेबाट सकिँदैछ । समय सकिन भन्दा एक घण्टा अगाडि उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको उनलाई समर्थन छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । नेकपा एमालेको ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ गरी सत्तारुढ दलसँग ६० जना सांसद छन् । प्रतिपक्षमा रहेको नेपाली काँग्रेसको २९ र नेकपा एकीकृत समाजवादीको ४ सिट छ ।

कार्कीलाई मुख्यमन्त्री बनाउन दाबीसहित माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलासहित नेताहरू प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस