काठमाडौँ । भरतपुर महानगरपालिकाको आयोजनामा शुक्रबार आर्थिक वर्ष ०७९-८० को प्रथम चौमासिकमा भएका कामको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर रेनु दाहालले निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनालाई यो कार्यकालमा पूर्णता दिने दाबी गरिन् ।
भरतपुरमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना र निर्माण हुने सिग्नेचर ब्रिज, अलपत्र अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र ल्याण्डफिल साइटको कामलाई पूर्णता दिने उल्लेख गरिन् । कार्यक्रममा भरतपुर महानगरपालिकाका निमित्त कार्यकारी प्रमुख गणेश नेपालीले प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा एक दर्जन बढी सहभागीले भरतपुर महानगरपालिका र अन्य सेवा प्रवाह निकायहरूले प्रदान गर्ने कामबारे गुनासो एवम् सुझाव राखेका थिए ।
प्रमुख दाहालले भरतपुरमा देखिएको फोहर व्यवस्थापनको कामलाई उच्च प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गरिन् । महानगरपालिकालाई स्मार्ट सिटी निर्माण गर्ने योजना अनुरूप अन्य कार्यहरू निर्बाध रूपमा अघि बढे पनि फोहर व्यवस्थापनका लागि ल्याण्ड फिल्ड साइट निर्माण गर्ने कार्यले गति नलिएको बताइन् ।
उनले जलदेवि सामुदायिक वनको १६ बिघा क्षेत्रफलमा निर्माण गर्न लागिएको ल्याण्ड फिल्ड साइटमा दातृ निकायले कुनै निष्कर्ष नदिँदा विलम्ब भएको जानकारी दिइन् । अब केही समय यो निकायलाई पर्ख र हेरको अवस्था महानगरपालिका रहेको भन्दै उनले संघीय सरकारको सहयोगमा भएपनि काम अगाडि बढाउने मनस्थिति निर्माण गरेको बताइन् ।
मेयर दाहालले कुनै पनि कुरामा गुनासो नआउने गरी काम अगाडि बढाउन सम्बन्धित महाशाखा, शाखाका कर्मचारीहरूलाई निर्देशन समेत दिइन् । उनले महानगरपालिकाको कामलाई छिटो छरिँदो बनाउन नयाँ सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण गर्न लागेको पनि प्रस्ट पारिन् ।