एक महिनादेखि प्रशासकीय अधिकृत कार्यालयमा अनुपस्थित, काम काजमा समस्या « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

एक महिनादेखि प्रशासकीय अधिकृत कार्यालयमा अनुपस्थित, काम काजमा समस्या


२१ पुस २०७९, बिहिबार


काठमाडौँ । बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तव कार्यालयमा अनुपस्थित हुँदा काम काजमा समस्या भएको छ । 

गाउँपालिका अध्यक्ष राजेश यादवका अनुसार अधिकृत श्रीवास्तव एक महिनादेखि सम्पर्कविहीन छन् । श्रीवास्तव कार्यालय नआएपछि कार्यपालिकाको निर्णयसहित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत जानकारी गराइ सकेको यादवले प्रशासनलाई बताए । तर मन्त्रालयले कुनै जवाफ नदिएको अध्यक्ष यादवको भनाई छ । 

उनले भने, ‘प्रशासनिक कामकाज हुन सकेको छैन, पालिकामा औषधी अभाव छ, अधिकृत नहुँदा खरिद प्रक्रिया अघि बढ्न सकेको छैन, उहाँ (श्रीवास्तव) सम्पर्क मै हुनुहुन्न ।’ 

चिसो मौसममा पालिकाका स्वास्थ्य संस्थाहरूमा सामान्य किसिमको औषधीसमेत नहुँदा बिरामीहरू मर्कामा परेका छन् ।

औषधी खरिदको प्रक्रिया पूरा नभएकाले औषधी खरिद गर्न नसकेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। औषधी नपाएपछि अहिले बिरामीहरू उपचार सेवा नपाइ रित्तै हात फर्किन बाध्य भएका छन्।

यता प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवलाई प्रशासनले सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । उनको मोबाइल स्विच अफ छ । 

Tags :
प्रतिक्रिया दिनुहोस