‘भाग पुर्‍याउन मन्त्रालय फुटाउन पाइँदैन’-राप्रपा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘भाग पुर्‍याउन मन्त्रालय फुटाउन पाइँदैन’-राप्रपा


२० पुस २०७९, बुधबार


काठमाडौँ । बालुवाटार बैठकमा न्यूनतम साझा कार्यक्रमबारे सत्ता साझेदार दलहरूले जिज्ञासा राखेका छन् । त्यसका लागि गठित समितिमा रहेका सदस्यहरूले थप एक दिन माग गरेका छन् ।

भोलिसम्म काम सकेर दोस्रो बैठक शुक्रबार बस्ने सहमति सत्ता साझेदार दलका शीर्ष नेताबीच भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनुअघि सरकारको न्यूनतम साझा कार्यक्रमबारे दलहरूको साझा धारणा आउने छ ।

प्रधानमन्त्री प्रचण्ड धेरैवटा दललाई चित्त बुझाएर मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने बाध्यतामा छन् । त्यसका लागि मन्त्रालयहरू नै फुटाउने चर्चा चलेको छ । बैठकमा सहभागी दलहरूले यसबारे उनीसँग जिज्ञासा राखेका थिए ।

प्रचण्डले भने बाहिर आएका चर्चा गलत भएको प्रष्टीकरण दिए । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना तीन सरोकार न्यूनतम साझा कार्यक्रममा पर्छन् कि पर्दैनन् भनेर सोधेका थिए । राप्रपाले पुस २७ लाई राष्ट्रिय एकता दिवस मानिनुपर्ने, विकास सुशासनसँग सम्बन्धित प्रश्नबारे चित्तबुझ्दो जवाफ दिनु पर्ने, जनतालाई सेवा प्रवाह बलियो बनाउनुपर्ने सर्त राखेर यो सरकारलाई समर्थन दिएको छ ।

प्रचण्डले राप्रपाका माग पूरा हुने आश्वासन दिएको बैठकबाट निस्केपछि लिङ्देनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस