राष्ट्रिय मुद्दामा सबै दलको सहमति जुटाएर अघि बढ्छौँ : देव गुरुङ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय मुद्दामा सबै दलको सहमति जुटाएर अघि बढ्छौँ : देव गुरुङ


१९ पुस २०७९, मंगलबार


चितवन । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले राष्ट्रिय मुद्दामा सबै दलबीच सहमति कायम गरेर अघि बढ्ने बताएका छन् ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले राष्ट्रिय मुद्दामा सरकार पक्ष र प्रतिपक्ष सबैसँग सहमति कायम गरेर अघि बढ्नुपर्ने बताए ।

अहिलेको आवश्यकता भनेको राष्ट्रिय स्वाधीनताको रक्षाको, स्थिरता र स्थायित्व भएको भन्दै उनले यसका निम्ति सबै प्रकारका दलबीचमा सहमति र सहकार्यको खाँचो रहेको बताए ।

‘यतिखेर सके सबै दलबीचमा राष्ट्रिय सहमति जुटाउन कोसिस गर्ने हो । विधिले सत्तापक्ष र प्रतिपक्षको अङ्गीकार गरेको भए पनि एजेन्डागत आधारमा राष्ट्रिय सहमति जुटाउँदै अघि बढ्नुपर्छ,’ उनले भने ।

मुलुक सङ्कटको अवस्थामा रहेको भन्दै उनले अहिलेको राजनीतिक प्रणालीका प्रस्तावक र अगुवा एक भएर अघि बढ्नुपर्ने बताए ।

देशमा वृहत् शान्ति सम्झौताका समयमा सरकार पक्ष गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति भएको भन्दै उनले यी दुवै पक्ष सहमतिका साथ अघि बढ्नुपर्ने बताए ।

प्रणालीलाई भताभुङ्ग बनाउन खोज्ने विरुद्ध आफूहरूको लडाइँ रहेको बताउँदै उनले यही पद्धति अङ्गीकार गरेर निर्वाचनमा आएपछि कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने बताए ।

अहिलेको गठबन्धन मुलुकको आवश्यकताको हिसाबले बनेको उनको भनाइ थियो । उनले थपे, ‘मुलुकमा स्थिरता र स्थायित्व कायम राख्दै मुलुकको स्वाधीनताको रक्षाका निम्ति बढीभन्दा बढी दलको आपसी सहमति र सद्भावकासाथ अघि बढ्ने समय आएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस