परराष्ट्रको जानकारीबिना विदेशी भेटघाट नगर्न प्रधानमन्त्रीको निर्देशन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

परराष्ट्रको जानकारीबिना विदेशी भेटघाट नगर्न प्रधानमन्त्रीको निर्देशन


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्र मन्त्रालयको जानकारी बेगर कुनै पनि विदेशी र कूटनीतिक नियोगका पदाधिकारीहरूसँग भेटघाट नगर्ने सरकारी अधिकारीहरूलाई निर्देशन दिएका छन् । 

दुई दिनसम्म चलेको सचिव बैठकमा मङ्गलवार निर्देशन दिँदै प्रधानमन्त्री दाहालले परराष्ट्र मन्त्रालयको जानकारीमा मात्र यस्ता भेटघाट गर्ने पाउने उल्लेख गरे ।

उनले भेटघाटसँग सम्बन्धित कूटनीतिक आचारसंहिता समेत बनाउन निर्देशन दिएका छन् ।

‘नेपालका सरकारी पदाधिकारीहरूले परराष्ट्र मन्त्रालयको जानकारीमा मात्र विदेशी कूटनीतिक भेटघाट गर्ने र परराष्ट्र मन्त्रालयले यस सम्बन्धी आचारसंहिता तयार गर्नुहोला’ प्रधानमन्त्री दाहालले लिखित निर्देशन दिँदै भनेका छन् । उनले मित्रराष्ट्रहरुसँग असंलग्नताको सिद्धान्तमा केन्द्रित रहेर आर्थिक कूटनीति अवलम्बन गर्ने निर्देशन दिएका छन् ।

‘सरकारले छिमेकी लगायत सबै मित्रराष्ट्रहरुसँग असंलग्नताको सिद्धान्तमा रहेर सन्तुलित र सुमधुर सम्बन्ध राख्ने छ। हाम्रो सम्बन्ध सबैसँग मित्रता नै हो कसैसँग शत्रुता छैन। यही नीति अनुसरण र अवलम्बन गर्दै आर्थिक कूटनीति र अन्तराष्ट्रिय समुदायको सहयोगमा द्विपक्षीय र बहुपक्षीय विकास सहायता परिचालन गर्नुहोस्’ प्रधानमन्त्री दाहालले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस