वडामै पुगेर योजना सम्झौता « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

वडामै पुगेर योजना सम्झौता


१९ पुस २०७९, मंगलबार


टक्सार(भोजपुर) । स्थानीय स्तरमा नै पुगेर छनोट भएका योजनाको सम्झौता हुन थालेपछि स्थानीयले गाउँमै सिंहदरवार आएको महसुस गर्न थालेका छन् ।

प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरको रामप्रसाद राई गाउँपालिकाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै योजना वडा स्तरमा नै सम्झौता थालेको हो ।

गाउँपालिकाले टोल टोलमै पुगेर अहिले योजना सम्झौता गरिरहेको छ ।

स्थानीयलाई पालिका केन्द्रसम्म धाउन सास्ती हुने भन्दै गाउँपालिकाका अध्यक्ष थामबहादुर राई सहितको कर्मचारीको टोलीले वडाका टोल टोलमा पुगेर योजना सम्झौता गरेको वडा नं ३ भुल्केका वडाध्यक्ष रामु थापा मगरले जानकारी दिए ।

‘गाउँपालिकाबाट सञ्चालन हुने योजनाहरू वडाबाटै सम्झौता गर्न शिविर नै चलाउने निर्णय गाउँ सभामै भएको थियो, सोहीअनुसार अहिले योजना सम्झौताका लागि आवश्यक कर्मचारी सहितको टोली सक्रिय छ’, अध्यक्ष मगरले भने ।

आफूले निर्वाचित गरेर पठाएका जनप्रतिनिधिसहितको टोली गाउँमा आएर योजना सम्झौतामा सक्रिय हुन थालेपछि गाउँमा पनि सिंहदरबार आएको महसुस स्थानीयवासीले गरेका छन् ।

गाउँपालिका अध्यक्ष थामप्रसाद राईसहितको टोलीले अहिलेसम्म पालिका वडा नं ३ भुल्के, वडा नं ७ बासिखोरा, वडा नं ५ मानेभञ्ज्याङ, वडा नं ६ वैकुण्ठे र वडा नं ८ गरी ४० वटा योजना सम्झौता गरिसकेको छ । पालिकाको वडा नं ४, १ र २ नं वडामा योजना सम्झौता गर्न बाँकी छ ।

वडा तहबाट योजना सम्झौता गर्नका लागि पालिका पुग्न एक दिन नै लाग्ने र खर्चसमेत हुने समस्या हटेकाले स्थानीय खुसी भएको अध्यक्ष राईले बताए ।

गाउँपालिकाले पहिलो गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रममा योजना सम्झौता टोल टोलमा नै पुगेर गर्ने निर्णय गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस