प्रहरी अधिकृतहरुलाई महानिरीक्षक सिंहले दिए यस्तो निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रहरी अधिकृतहरुलाई महानिरीक्षक सिंहले दिए यस्तो निर्देशन


१८ पुस २०७९, सोमबार


काठमाडौँ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले व्यावसायिक र कर्तव्यनिष्ठ भएर कार्यसम्पादन गर्न प्रहरी अधिकृतलाई निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयमा आयोजित ‘काठमाडौँ उपत्यका प्रहरी तथा प्रदेश प्रहरी प्रमुखसँगको प्रदेशस्तरीय शान्ति सु-व्यवस्थासम्बन्धी अर्धवार्षिक समीक्षा बैठक’ मा उनले जस्तोसुकै अवस्थामा पनि थप व्यावसायिक एवं कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिएका हुन् ।

उनले सार्वजनिक सुरक्षा अमनचैन कायम गर्न र सङ्गठनको उद्देश्य प्राप्तिका लागि विषम परिस्थितिमा संयमित भई कार्य गर्ने व्यावसायिक र बहादुर प्रहरी कर्मचारीको सङ्गठनमा सधैँ खाँचो रहने बताए ।

प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीमा व्यावसायिकता ल्याउन उनीहरूको मनोबल सदैव उच्च रहनुपर्ने भएकाले आफू मातहत कर्मचारीको अवस्था, समस्या, गुनासोको उचित सम्बोधन गर्न प्रहरी कार्यालयका प्रमुखहरूको दायित्व रहने उल्लेख गरे ।

उनले निर्वाचन सफलरूपमा सम्पन्न गर्न सम्पूर्ण प्रहरी कर्मचारीको योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा राजस्व चुहावट, जघन्य अपराध, तस्करी, महिला हिंसालगायतका अपराध निस्तेज गर्न सम्पूर्ण प्रहरी कर्मचारी दत्तचित भई लाग्नुपर्ने बताए । प्रहरीले औचित्य पुष्टि हुने गरी कर्तव्य पालनाका क्रममा निष्ठापूर्वक गरेका काम–कारबाहीप्रति सङ्गठनको सदैव साथ र सहयोग रहने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस