रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा अवरोध गर्ने नागरिक उन्मुक्ति पार्टीको चेतावनी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा अवरोध गर्ने नागरिक उन्मुक्ति पार्टीको चेतावनी


१८ पुस २०७९, सोमबार


धनगढी । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ नभएमा सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने चेतावनी दिएको छ ।

सोमबार सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले थारुहरूको ठुलो पर्व माघीसम्म चौधरीको रिहाइ मुख्य सर्त भएको बताए ।

उनले चौधरीको रिहाइ नभएको अवस्थामा भने प्रदेशसभाको बैठकमा अवरोध गर्ने चेतावनी दिएका छन् ।

‘नेपालको नयाँ संविधान लेखन हुँदै गर्दा २०७२ सालमा टीकापुर घटना घट्यो । व्यक्तिगत स्वार्थका लागि नभएर राजनीतिक अधिकार माग्ने क्रममा घटना घट्यो । तर यो घटनाका कारण राज्यले थारु समुदायमाथि ठुलो अन्याय गरेको छ, चौधरीले भने, ‘७ वर्षसम्म सरकारले निकास दिन सकेको छैन । डिल्लीबजार कारागारमा रेशम चौधरी र कैलाली कारागारमा हाम्रै थुप्रै साथीहरूलाई बन्दी बनाएर राखिएको छ । माघी पर्वसम्म निर्शत उहाँहरूको रिहाइ गर्नुपर्ने हाम्रो माग छ । होइन भने माघपछि सदनमा हाम्रो अवरोध हुनेछ । चल्ने दिइने छैन ।’

चौधरीले टीकापुर घटना अपराधिक नभएर राजनीतिक घटना भएका कारण सोही रूपमा राज्यले निकास खोज्नुपर्ने उल्लेख गरेका छन् । उनले आफूहरू जनताबाट ५ वर्षका लागि अनुमोदित भएर आएको बताउँदै चुनौती र अवसर दुवै रहेको पनि बताए ।

संघीय सरकारमा बाहिर बसेर समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ लगायतका माग राख्दै आएको छ । सुदूरपश्चिम प्रदेशमा सरकार गठनमा निर्णायक देखिएको यो पार्टीले मुख्यमन्त्रीमा समेत दाबी गरेको छ । तर एमाले नेतृत्वको गठबन्धनमा भागबण्डा हुन बाँकी रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस