माधव नेपाललाई कसैले पनि राष्ट्रपतिका लागि प्रस्ताव गरेको छैन : खतिवडा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माधव नेपाललाई कसैले पनि राष्ट्रपतिका लागि प्रस्ताव गरेको छैन : खतिवडा


१६ पुस २०७९, शनिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई भावी राष्ट्रपतिको रूपमा चर्चा गरिए पनि अहिलेसम्म कसैले पनि सोबारे प्रस्ताव नगरेको बताएका छन् ।

शनिबार काठमाडौँमा जारी पार्टीको १४ औँ स्थायी कमिटी बैठकको बीचमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले अध्यक्ष नेपाल राष्ट्रपति बन्ने हल्ला निराधार रहेको प्रस्ट पारेका हुन् ।

उनले भने– ‘पार्टी अध्यक्ष नेपालसँग राष्ट्रपतिको लागि कसैले प्रस्ताव गरेको छैन । अहिले चलेका हल्ला निराधार हुन् ।’ उनले पार्टी एकीकरण वा विलय गराउनेबारेमा कुनै काम नगरेको र त्यसबारेमा रुची पनि नरहेको पनि प्रस्ट पारे । बाम एकता गर्ने, एजेन्डाका आधारमा एकता गर्नेमा भने अलिकति रुचि रहेको उनले बताए । पार्टीको सङ्गठनलाई सुदृढ बनाउने योजनामा रहेको बताउँदै खतिवडाले भने– ‘यो वा त्यो आधारमा फलानो पार्टीसँग एकीकरण हुँदैछ भन्ने कुरा निराधार हल्ला मात्र हो । आम जनतालाई म यही कुरा सुसूचित गर्न चाहन्छु ।’

बिहान ११ बजेदेखि जारी बैठकमा अध्यक्ष नेपालले अहिलेको परिस्थितिमा पार्टीको आगामी बाटोका बारेमा स्थायी कमिटी सदस्यको राय लिइरहेका छन् । अहिलेको सन्दर्भमा सङ्गठन सुदृढीकरण कसरी गर्ने, पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारेमा छलफल भइरहेको प्रवक्ता खतिवडाले जानकारी दिए ।

बैठकमा सम्मानित नेता झलनाथ खनालले पार्टी निर्माणमा अबको कार्यदिशा भन्ने बारेमा मन्तव्य राखेका छन् । उनले सशक्त सङ्गठन भएको, युवाहरूको सहभागिता भएको पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

पार्टीका महासचिव बेदुराम भुसालले पार्टीको सङ्गठनलाई अगाडि बढाउन के कस्तो भूमिका खेल्नुपर्छ भन्ने कुरामा जोड दिएका छन् । स्थायी कमिटी सदस्यहरूले सरकारमा जाने वा नजानिबारेमा, कसैले सङ्गठनको बारेमा आफ्नो विचार राखेका छन् ।

सरकारमा जाँदा राम्रा नराम्रा पक्षहरू, गठबन्धन के कारण र कसको कमजोरीका कारण तोडियो, नयाँ बनिरहेको सरकारप्रतिको पार्टीको धारणा के हुने भन्नेबारेमा छलफल भइरहेको हो ।

सरकारमा जाने वा नजानिबारेमा आजको बैठकपछि पोलिटब्यूरो बैठकसम्म पुगेर निर्णय लिन सक्ने अवस्था बन्ने खतिवडाले बताए । बैठक भोलिसम्म चल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस