आफूखुसी नेता र राजदूत नभेट्न गृहको निर्देशन, भेट्नै पर्ने भए अनुमति लिनुपर्ने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आफूखुसी नेता र राजदूत नभेट्न गृहको निर्देशन, भेट्नै पर्ने भए अनुमति लिनुपर्ने


१४ पुस २०७९, बिहिबार


काठमाडौँ । गृह मन्त्रालयले आफूखुसी दलका नेताहरूलाई नभेट्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको छ ।

मन्त्रालयले विभागीय स्वीकृति लिएर मात्रै राजनीतिक नेतृत्व र कूटनीतिक नियोगहरूमा भेटघाट गर्न सुरक्षा निकायका पदाधिकारीहरूलाई निर्देशन दिएको हो ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकालेर दिएको जानकारी अनुसार विभागीय स्वीकृति बिना नेता र कूटनीतिक नियोगहरूमा भेटघाट गर्ने सुरक्षा पदाधिकारीलाई कारबाही हुने छ ।

‘शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरु कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कूटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरूले कूटनीतिक नियोग, विभिन्न राजनैतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्ने पर्ने भएमा स्पष्ट प्रयोजन र विभागीय स्वीकृति लिएर मात्र गर्नु गराउनु हुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित सङ्गठन प्रमुखले मिलाउन अनुरोध छ’, विज्ञप्तिमा लेखिएको छ, ‘यस निर्देशन विपरीत कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम अनुशासन सम्बन्धी कारबाही हुने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस