सांसदले तलबसहित पाउँछन् यी सेवा सुविधा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सांसदले तलबसहित पाउँछन् यी सेवा सुविधा


१३ पुस २०७९, बुधबार


काठमाडौँ । निर्वाचनपश्चात् नयाँ सरकार गठन भएको छ । नेकपा (एमाले)को समर्थनमा नेकपा (माओवादी केन्द्र)ले सरकारको नेतृत्व गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ प्रधानमन्त्री बनेका छन् । निर्वाचनबाट सबैभन्दा ठुलो बनेको दल नेपाली काँग्रेस प्रतिपक्षमा छ ।

यही पुस २५ गते दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने तय छ । यो पटक प्रतिनिधिसभामा युवा सांसदको उपस्थिति बाक्लो छ । प्रतिनिधिसभा सदस्यले विभिन्न सेवा सुविधा पाउँछन् ।

प्रतिनिधिसभा सदस्यको पारिश्रमिक र भत्ता
प्रतिनिधिसभा सदस्यले मासिक पारिश्रमिकका रूपमा ६६ हजार ७० रुपैयाँ पाउँछन् । मासिक रूपमा विशेष भत्ताबापत एक हजार, सञ्चार सुविधाबापत तीन हजार र धारा पानी शीर्षकमा दुई हजार रुपैयाँ गरी मासिक रूपमा एकमुस्ट ७२ हजार ७० रुपैयाँ पाउँछन् ।

यस्तै, आवास सुविधाअन्तर्गत काठमाडौं उपत्यकामा घर नहुने सांसदहरूले मासिक १८ हजार रुपैयाँ पाउँछन् । काठमाडौं उपत्यकामा घर हुनेहरूले नौ हजार रुपैयाँ पाउँछन् ।

सांसद निर्वाचित भएर आइसकेपछि एकपटकका निम्ति फर्निचरका लागि एकमुस्ट १५ हजार रुपैयाँ दिइन्छ । सांसदहरूले समिति र सभाको बैठकमा उपस्थित हुँदा हरेक बैठक भत्ताबापत एक हजार र सभा तथा बैठकमा आवतजावतका लागि थप एक हजार रुपैयाँ पाउँछन् ।

थप सुविधाका रूपमा सांसदको दैनिक कामकाजमा सघाउने हेतुले सचिवालयमा राजपत्राङ्कित तृतीय श्रेणीसरहको स्वकीय सचिव नियुक्त गर्न दिइनेछ । स्वकीय सचिवको सेवा सुविधाबापतको रकम स्वयं स्वकीयको खातामा पठाइदिने गरिएको छ ।

सांसदहरूले स्वदेशभित्र कुनै भ्रमण गर्नुपरेमा दैनिक भ्रमण भत्ताबापत दुई हजार ५०० पाउँछन् । विदेश भ्रमण गर्नुपरेमा प्रतिदिन २२५ अमेरिकी डलर पाउँछन् ।

यस्तै, देशको प्रतिनिधित्व गर्दै अथवा संसद्को कामको सिलसिलामा विदेश जानुपरेमा संसद् सचिवालयको सिफारिसमा राहदानी विभागले कूटनीतिक राहदानी उपलब्ध गराउनेछ ।

सांसदहरूले उपचार खर्च पनि पाउने गरेका छन् । कुनै रोगको सम्बन्धमा परामर्श लिनुपरेमा संघीय संसद् सचिवालयमा वरिष्ठ चिकित्सकले निःशुल्क परामर्श दिने व्यवस्था गरिएको छ ।

अस्पताल भर्ना हुनुपरेको अवस्थामा सरकारी अस्पतालमा भर्ना भएमा बिलानुसारको सबै रकम उपलब्ध गराइन्छ । निजी अस्पतालमा भर्ना भएको भए बिलको आधा रकम प्रदान गरिन्छ ।

सांसदहरूले पेस्की लिन चाहेमा कारण जनाएर पारिश्रमिक र आवास भत्ताबापतको रकम बढीमा तीन महिनासम्मको लिन सकिने व्यवस्था रहेको छ ।

विशेष परिस्थितिवश विदेशी अस्पतालमा उपचार गराउनुपर्ने अवस्था आएमा प्रतिनिधिसभा सदस्यलाई सभामुखको र राष्ट्रियसभा सदस्यलाई सभाका अध्यक्षको स्वीकृतिमा बढीमा एक वर्षसम्मको पारिश्रमिक र आवास भत्ताबापतको रकम पेस्की उपलब्ध व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस