सुदूरपश्चिमका सांसदको शपथ पुस १५ गते, मातृभाषामा शपथ लिनेले निवेदन दिनुपर्ने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सुदूरपश्चिमका सांसदको शपथ पुस १५ गते, मातृभाषामा शपथ लिनेले निवेदन दिनुपर्ने


१२ पुस २०७९, मंगलबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूको पद तथा गोपनीयताको शपथ पुस १५ गते हुने भएको छ  । आज एक सूचनामार्फत प्रदेश सभा सचिवालयले पुस १५ गते दिउँसो १ बजे शपथ हुने जानकारी दिएको हो ।

सचिवालयका प्रमुख देबबहादुर बोगटीका अनुसार प्रदेश सभा सदस्यहरूको शपथ स्थानीय भाषामा हुनेछ । आफ्नै भाषा (मातृभाषा)मा शपथ लिन चाहनेलाई तीन दिनभित्र निवेदन दिन आग्रह गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा काँग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एकजना स्वतन्त्र सांसद छन् ।

संविधानको धारा १८२ को उपधारा ५ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम निर्वाचित प्रदेश सभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्यले प्रदेश सभाको अध्यक्षता गर्ने व्यवस्था छ । यसपटक सबैभन्दा ज्येष्ठ प्रदेश सभा सदस्य अछामका मानबहादुर रावल रहेका छन् । उनी अछाम निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भएका हुन् । ६८ वर्षीय रावलले प्रदेश सभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउने छन् ।

त्यसअघि, रावललाई प्रदेश प्रमुख जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छन् । 

प्रदेश प्रमुखबाट ज्येष्ठ प्रदेश सभा सदस्य र ज्येष्ठ प्रदेश सभा सदस्यबाट अन्य सदस्यलाई शपथ ग्रहणको कार्यक्रम एकैदिन राखिएको सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए । प्रदेश सभा भवनको हलमा शपथ ग्रहण कार्यक्रम हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस