रास्वपाले माग्यो सिंहदरवारमा छुट्टै कार्यालय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रास्वपाले माग्यो सिंहदरवारमा छुट्टै कार्यालय


१२ पुस २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको कार्यालयका लागि सिंहदरवारमा छुट्टै व्यवस्थाको माग गरेको छ ।

संघीय संसद सचिवालयले ४ मंसिरको आम चुनावबाट आएका नयाँ दलहरूका लागि विगतमा हेलो सरकार बस्दै आएको भवनमा संसदीय दलको कार्यालय व्यवस्थापन गरेको छ । जहाँ रास्वपा, राप्रपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायत स्वतन्त्र सांसदहरूका लागि कार्यालय व्यवस्थापन गरिएको छ ।

पुराना पार्टीहरू नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका लागि साविककै स्थानमा संसदीय दलको कार्यालय व्यवस्थापन गरिएको छ ।

नेपाली काँग्रेस र नेकपा एमालेको आफ्नै कम्पाउण्डसहितको भवन छ । अलग कम्पाउण्ड नभए पनि माओवादीको कार्यालय पनि छुट्टै छ ।

रास्वपाले पुराना पार्टीहरूलाई छुट्टै कार्यालय व्यवस्थापन गरिएको तर, नयाँ पार्टीहरूका लागि एकै ठाउँमा कार्यालय दिएको भन्दै असन्तुष्टि जनाएको हो । गोपनीयता लगायतका कारणले पनि आफूहरूको पार्टीका लागि छुट्टै कार्यालय आवश्यक भएको रास्वपाले संसद सचिवालयलाई भनेको छ ।

नेकपा एकीकृत समाजवादीको संसदीय दल साविककै स्थान (संसद भवन नम्बर १) मा छ । यसतर्फ सङ्केत गर्दै रास्वपाका प्रवक्ता मुकुल ढकालले नयाँ र पुराना दलका लागि अलग अलग कार्यालय व्यवस्थापन गरिनु गलत भएको बताए ।

आफूहरू संसद्को चौथो ठूलो दल भएकाले त्यही अनुसार छुट्टै कार्यालय व्यवस्थापनका लागि आग्रह गरिएको उनले जानकारी दिए ।

रास्वपाको मागका सम्बन्धमा संसद सचिवालयका अधिकारीहरूले ‘छलफल गरौँला’ भन्ने जवाफ दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस