आर्थिक अभावले सिकलसेलका बिरामीलाई उपचारमा समस्या « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आर्थिक अभावले सिकलसेलका बिरामीलाई उपचारमा समस्या


२३ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । सिकलसेल एनिमियाका बिरामीलाई उपचारमा हुने आर्थिक अभावको समस्या अझै उस्तै छ। राज्यले दिने एक लाख रुपैयाँ सकिएपछि आफ्नै खर्चमा उपचार गराउनुपर्ने बाध्यता छ। 

सरकारले सिकलसेल एनिमियाका बिरामीलाई जीवनभर कुल एक लाख रुपैयाँ बराबरको उपचार खर्च दिने नीति लिएको छ। तर, उक्त रकम तीन-चार वर्षमै सकिने बिरामीले गुनासो गरेका छन्। सरकारले तोकेको रकम सकिएपछि आफ्नै खर्चमा उपचार गराउन बाध्य भएको बैजनाथ गाउँपालिका-२ लढौराका काशीराम थारुले बताए।

सरकारले दिने एक लाख रुपैयाँ सकिएको बर्दिया बढैयाताल गाउँपालिका– ४ का भोलासिंह थारुले बताए। उनले सिकलसेल एनिमियाको औषधि महँगो भएकाले रकम छिट्टै सकिएको बताए। राज्यले उपलब्ध गराउने एक लाख रुपैयाँ सकिएपछि आफ्नै खर्चमा औषधि किनेर खाइरहेको उनको भनाइ छ। 

सिकलसेल एनिमियाको औषधि स्वास्थ्य बिमामा समावेश गर्न बिरामीले माग गरेका छन्। बिमामा औषधि समावेश नहुँदा उपचारमा समस्या भएको कैलालीको घोडाघोडी नगरपालिका-३ का ४३ वर्षीय सुरेश कठरिया थारूले बताए।

सिकलसेल पत्ता नलाग्दा उपचारका लागि उनी नेपालका अस्पताल मात्र नभई भारत पनि धाए। उपचारमा सात लाख खर्च भएपछि रोग पत्ता लागेको उनले सुनाए। रोग पत्ता लागेपछि सरकारले तोकेको रकमबाट निःशुल्क औषधि पाएपनि उपचारकै क्रममा उक्त रकम सकिन लागेको उनले दुखेसो सुनाए।

उनी जस्तै सिकलसेल एनिमियाका धेरै बिरामीको राज्यले दिएको सुविधा रकम सकिने क्रममा छ। राज्यले तोकेको रकम सकिएर उपचारबाट वञ्चित भइरहेको भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियनसमेत रहेका सिकलसेल विज्ञ डा.राजन पाण्डेले बताए। उनले राज्यले तोकेको एक लाख रुपैयाँ अपुग भएको बताए।

बाँकेबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चौधरीले सिकलसेल एनिमियाका बिरामीको लागि राज्यले विशेष नीति ल्याउनुपर्ने बताए। उनले स्वास्थ्य बिमामा सिकलसेललाई समेट्नुपर्नेमा जोड दिए। सिकलसेलका बिरामीलाई सामाजिक सुरक्षा भत्तामा जोड्न आवश्यक भएको बताउँदै उनले यसका लागि पहल गर्ने बताए।

सिकलसेल एनिमियाका बिरामीलाई दिँदै आएको उपचार र समस्याको जानकारी उनले भेरी अस्पतालसँग लिएका छन्। अस्पतालमै पुगेर सिकलसेल विज्ञ डा. पाण्डे, निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद आचार्य, भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठलाई भेटेर प्रदेशसभा सदस्य चौधरीले अस्पतालमा सिकलसेल केयर सेन्टर स्थापना गर्ने आश्वासन दिए।

यस्तै सिकलसेल एनिमिया बिरामीहरू छुट्टै वार्ड नहुँदा भुईँमा बसेर रगत चढाउन बाध्य छन्। सिकलसेलका बिरामीहरू इमरजेन्सी वार्डमा आएपनि ठाउँ नहुँदा लामो समयसम्म पालो कुर्नुपर्ने र वेड नपाउँदा भुईँ र बेन्चमा सुतेर रगत चढाउन बाध्य भएको अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. पाण्डेले बताए।

उनले अन्य बिरामीसँगै उपचार गर्दा सिकलसेल भएका बिरामीलाई अन्य रोग सर्ने सम्भावना रहेकाले छुट्टै वार्डको व्यवस्था गर्न उचित हुने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस