ट्राफिक व्यवस्थापनका लागि पार्किङ स्थल निर्धारण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ट्राफिक व्यवस्थापनका लागि पार्किङ स्थल निर्धारण


२३ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । वीरगञ्जलाई व्यवस्थित बनाउने अभियान अन्तर्गत ट्राफिक व्यवस्थापनका लागि सरोकारवाला सक्रिय भएका छन् । 

वीरगञ्जको मुख्य बजार क्षेत्रमा विद्यमान पार्किङ समस्या समाधान गर्न सरोकारवाला सक्रिय भएका हुन् । सोही क्रममा ५ ठाउँमा पार्किङ स्थल निर्धारण गरिनुका साथै केही स्थानमा सडकमा पार्किङ निषेध गर्ने निर्णय समेत गरेको छ ।

४ पाङ्ग्रे र २ पाङ्ग्रे सवारी साधन व्यवस्थापनका लागि बिर्तास्थित मालपोत कार्यालय प्राङ्गण, हजारी मल ट्रस्टको जमिन, पुरानो बसपार्क भित्र, गीता मन्दिर छेउको जग्गा र घण्टाघर नजिकको वीपी उद्यानको जमिनलाई पार्किङ स्थलको रूपमा तोकिएको छ । हजारी मलको जग्गा स-शुल्क पार्किङका लागि प्रयोग गर्ने निर्णय यसअघि नै भइसकेको छ भने वीपी उद्यानको जग्गा पार्क बनाउने बाहेक अन्य प्रयोजनमा प्रयोग नगर्न उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले आदेश गरिसकेको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घदेखि मकालु चोक, आदर्शनगर हुँदै माइस्थान मन्दिरसम्म र घण्टाघर चोकदेखि लिंकरोडको दुवै तर्फ चार पांग्रे सवारी साधन पार्किङ २४ सै घण्टा निषेध गरिएको छ ।

आदर्शनगर क्षेत्र र आदर्शनगरदेखि अलखियामठसम्म मुख्य सडकमा दुई पाङ्ग्रे सवारी पार्किङमा समेत रोक लगाउने तयारी भइरहेको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

त्रिभुवन राजमार्ग अन्तर्गत पर्ने वीरगञ्जको मुख्य सडक विस्तार हुन नसक्दा सडक साँघुरो छ भने सवारी साधनको चाप अत्यधिक छ । त्यसमाथि सडकमा एकातर्फ दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्ने गरिएको छ । पार्किङ स्थल थपेर वीरगञ्जको अव्यवस्थित सडकलाई व्यवस्थित गर्न लागिएको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुवप्रसाद दाहाल वीरगञ्जको ट्राफिक व्यवस्थित बनाउने उद्देश्यले अभियान थालिएकोले अटेर गरे कानुनी कारबाही गर्ने चेतावनी दिए । निर्णय कार्यान्वयनका लागि वीरगञ्ज महानगरपालिकाबाट नगर प्रहरी, ट्राफिक प्रहरी परिचालन हुनेछन् । तोकिएको ठाउँमा सवारी पार्किङ गर्दा सहरको सुन्दरता बढ्ने वीरगञ्ज-४ का वडा अध्यक्ष जगत साह कानुले बताए ।

वीरगञ्जका मेयरले राजेशमान सिंहले निर्वाचन अघि महानगरको आफ्नै ट्राफिक प्रहरी स्थापना गर्ने, पार्किङलाई वर्गीकरण गरी कार्यालय जाने र अन्यका लागि फरक पार्किङ स्थल बनाउने, भाडाका सवारी साधनको रुट र संख्या निर्धारण गर्ने तथा नयाँ पार्किङ स्थल स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस