एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस 


२० मंसिर २०७९, मंगलबार


काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार(आज) बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिवत्रय राम आधार साह, विश्वबाबु पुडासैनी र अर्जुन जङ्ग थापाको नाम सिफारिस गरेको हो । 

शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंह मङ्सिर पहिलो साता अनिवार्य भएसँगै रिक्त एक प्राविधिक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरिएको हो । सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ । 

अघिल्लो झैँ यस पटकको सचिव बढुवामा पनि निकै ठुलो घम्साघम्सी हुने देखिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय(जलस्रोत तथा सिँचाइ) सचिव सागर कुमार राई कार्तिक ९ गते अनिवार्य अवकाशमा गएसँगै रिक्त हुन पुगेको सचिव पदमा सहसचिवत्रय राम आधार साह, विश्वबाबु पुडासैनी र केशव कुमार शर्माको नाम सिफारिस गरिएकोमा तेस्रो नम्बरमा सिफारिस केशव कुमार शर्मा सचिवमा बढुवा हुन पुगेका थिए । 

सम्बन्धित समाचार : तेस्रो नम्बरका केशव कुमार शर्मा सचिवमा बढुवा

त्यसबेला पहिलो नम्बरमा सिफारिस साह अहिले पनि पहिलो नम्बरमा छन् तर यस पटक पनि तेस्रो नम्बरले नै बाजी मार्ने चर्चा निजामतीमा चुलिएको छ । 

पछिल्लो समय प्रणाली भन्दा पनि ‘पहुँच’ र ‘थैली’ले नै बढी काम गर्न थालेकोमा स्थायी सरकारसमेत भनिने निजामती तन्त्र चिन्तित छ । खास र विशेष परिस्थितिमावाहेक प्रणालीलाई नै अवलम्बन गर्दा हाल कायम बेथिति केही दहसम्म घट्ने प्रशासकहरू बताउँछन् । 

निजामती तन्त्रको मुख्यसचिव पछिको सर्वोच्च पद सचिवमा बढुवा गर्दा आचरण, क्षमता तथा विगतको ट्र्याक रेकर्डसमेत हेरी विवाद नहुने गरी निर्णय गर्दा मात्रै उक्त पदको गरिमा कायम रहन्छ । 

Tags :
प्रतिक्रिया दिनुहोस