संसदीय दलको नेतामा देउवाले चाहना राखेपछि दायाँबायाँ हुन्न : उपसभापति खड्का « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

संसदीय दलको नेतामा देउवाले चाहना राखेपछि दायाँबायाँ हुन्न : उपसभापति खड्का


१५ मंसिर २०७९, बिहिबार


काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताएका छन् ।

बिहीबार काँग्रेस नेता कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको सालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका खड्काले देउवाको नेतृत्वमा काँग्रेस र सत्तारुढ गठबन्धन चुनावमा गएको भन्दै देउवाले चाहँदासम्म दायाँबायाँ नहुने बताए ।

‘सीधा कुरा छ, नेपाली काँग्रेसका सभापति, प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी निर्वाचनमा होमिएका छौँ । सत्ता गठबन्धन होमिएको छ । विशेषगरी काँग्रेस पार्टी उहाँकै नेतृत्वमा अगाडि बढेको छ । सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताको चाहना राख्ने कुरा अगाडि आएपछि त्यसमा अहिलेको बेलामा धेरै दायाँ बायाँ कुरा गरिराख्नुपर्छ जस्तो मलाई लाग्दैन’ उनले भने ।

उपसभापति खड्काले काँग्रेस संसदीय दलको नेता सर्वसम्मत रूपले चयन गर्नुपर्ने र त्यसको वातावरण बनाउन आफू पनि क्रियाशील हुने बताए । काँग्रेसमा महामन्त्री गगन थापाले आफू संसदीय दलको चुनाव लड्ने बताइसकेका छन् ।

खड्काले संसदीय दलको नेतामा अन्य नेताहरूको आकाङ्क्षालाई अन्यथा मान्न नहुने पनि बताए । व्यक्तिहरूको आकाङ्क्षाकै बीचमा सर्व सहमतिको वातावरण बनाउने उनको भनाइ छ ।

लोकतन्त्रमा कुनैपनि निर्वाचन प्रक्रिया अगाडि आउँदा कसैले म फलानो पदमा उठ्छु भनेर कसैले आफ्नो आकाङ्क्षा व्यक्त गर्दा त्यसलाई हामीले अन्यथा मान्नु हुँदैन । त्यो आकाङ्क्षा प्रकट भएकै कुरालाई जोडेर सर्वसम्मतको वातावरण बनाउने हो । मलाई विश्वास छ त्यो वातावरण बन्न सक्छ’ उपसभापति खड्काले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस