संघीय संसदमा दर्ता भएका विधेयकहरू अब के होलान्? « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

संघीय संसदमा दर्ता भएका विधेयकहरू अब के होलान्?


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । संघीय संसदको एक कार्यकाल पूरा भएको छ ।

मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन भएसँगै अब दोस्रो संघीय संसदको कार्यकाल सुरु हुने तरखरमा छ ।

अधिकांश स्थानमा भने मत परिणाम आइसकेको छ । निर्वाचन परिणामलाई नियाल्दा कुनै पनि एक दलको मात्रै बहुमतको सरकार बन्ने स्थिति छैन । नेपाली काँग्रेस र नेकपा एमाले यी दुई पार्टीमध्ये कुनै एकको नेतृत्वमा बन्ने सरकार बाँकी दलहरूको सहयोगमा गठबन्धनकै सरकार बन्ने निश्चित छ । मत परिणाम अन्तिम चरणमा पुगेसँगै आम मानिसमा संघीय संसदमा दर्ता भएका विधेयकहरू अब के होलान् ? भन्ने चासो र चिन्ता छ ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले संघीय संसदमा दर्ता भएका विधेयकमध्ये केही निष्क्रिय भइसकेको र केही भने विचाराधीन अवस्थामा रहेको बताएका छन् । उनले प्रतिनिधि सभामा उत्पादित भएर प्रक्रियागत रूपमा रहेका र प्रतिनिधि सभामा विचाराधीन रहेका विधेयकहरू निष्क्रिय भइसकेको बताए ।

उनले राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका विधेयकहरू भने अधिवेशन सुरु भएपछि सोही अवस्थाबाट सुरु हुने बताए ।

राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका विधेयकहरू १२ वटा छन् । सहायक प्रवक्ता धमलाले राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका बाहेकका विधेयकहरू भने निष्क्रिय भइसकेको बताए । उनले यदि सरकारले तिनै विधेयकहरू ल्याउन चाहेको खण्डमा भने फरक ढङ्गले ल्याउनु पर्ने र ती विधेयकहरूको पुनः नयाँ प्रक्रिया (जिरोबाट) शुरु हुने बताए ।

सहायक प्रवक्ता धमलाले विधेयकहरू राष्ट्रिय सभाबाट आए राष्ट्रिय सभाबाट नै अघि बढ्ने र प्रतिनिधि सभाबाट आए प्रतिनिधि सभाबाट नै अघि बढ्ने प्रावधान रहेको पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस