चुनावी समीक्षा गरी प्रतिवेदन बुझाउन यादवको निर्देशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चुनावी समीक्षा गरी प्रतिवेदन बुझाउन यादवको निर्देशन


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समीक्षा गरी प्रतिवेदन बुझाउन प्रदेश तथा जिल्ला समन्वय समितिलाई निर्देशन दिएका छन् ।

मंसिर ४ गते सम्पन्न चुनावमा पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वयं आफै पराजित भएका छन् भने अन्य क्षेत्रमा अपेक्षाकृत परिणाम आउन सकेन । त्यस लगत्तै उनले पार्टीमा चुनावी समीक्षा गरी प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।

जिल्ला समन्वय समितिले प्रत्येक निर्वाचनको क्षेत्रगत आधारमा पार्टीको हरेक तहको नेतृत्वदायी भूमिकामा रहेका सदस्यहरूले चुनावमा खेलेको भूमिकाको समेत समीक्षा गर्न अध्यक्ष यादवले निर्देशन दिएका हुन् ।

समानुपातिक र प्रत्यक्ष उम्मेदवारको भूमिका, निर्वाचन बखत भए गरेका सकारात्मक तथा नकारात्मक कार्य र पार्टीभित्र देखा परेका कमी कमजोरीको समेत समीक्षा गरी यथाशीघ्र निर्वाचन क्षेत्र स्तरीय र जिल्लास्तरीय समितिहरूको बैठक बसेर चुनावी समीक्षा गर्न उनले निर्देशन दिएका छन् ।

अध्यक्ष यादवले प्रदेश तथा जिल्ला समन्वय समितिलाई गरेको सर्कुलरअनुसार जिल्ला र निर्वाचन क्षेत्र स्तरीय समीक्षा बैठकहरूमा सम्बन्धित निर्वाचन क्षेत्रका उम्मेदवारहरूको समेत उपस्थितिमा सत्य, तथ्यका आधारमा ठोस रूपमा विश्लेषणात्मक चुनावी समीक्षा गर्ने र सो को प्रतिवेदन १५ दिनभित्र केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस