नियमित सेवामा फर्किए डा. भोजराज अधिकारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नियमित सेवामा फर्किए डा. भोजराज अधिकारी


१३ मंसिर २०७९, मंगलबार


चितवन । मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका चिकित्सक भोजराज अधिकारी नियमित बिरामी परीक्षण सुरु गरेका छन् ।

उम्मेदवारी मनोनयनको दुई दिनअघि नेकपा (माओवादी केन्द्र)ले लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट टिकट दिएपछि उनी निर्वाचनमा होमिएका थिए । भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर उनी उम्मेदवार बनेका थिए । अस्पतालको अध्यक्ष बनेपछि त्यहाँको फिजिसियन पदबाट राजीनामा दिएका अधिकारीले यसअघि पुष्पाञ्जली अस्पतालमा नियमित बिरामी जाँच गर्दै आएका थिए ।

उनले भने, ‘अब म नियमित काममा फर्किएको छु ।’ स्वास्थ्य सेवामार्फत राजनीतिमा सक्रिय रहने उनको योजना छ । निर्वाचनका समयमा आफ्नो प्रतिबद्धतापत्रमा समेटिएको जनतासँग अस्पताल कार्यक्रमलाई पराजित भए पनि निरन्तरता दिने उनले जानकारी दिए ।

गाउँगाउँमा गएर उपचार नपाएकालाई अस्पतालसँग जोड्ने, नियमित स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य जनचेतना जगाउनेलगायतका कार्य गर्ने योजना डा. अधिकारीको छ । उनले भने ‘विशेषज्ञसहितको स्वास्थ्य शिविर, रोग पत्ता लागेकालाई अस्पताल जोड्ने, समाजमा दीर्घरोगीको खोजीका लागि परीक्षण गर्ने योजनामा छु ।’ यसैगरी मधुमेह, उच्च रक्तचापलगायतका रोगको पहिचान अभियानका रूपमा गराउने उनले बताए ।

उनले भने, ‘क्यान्सर, मुटुरोग स्क्रिनिङ गर्ने, सरकारले निःशुल्क गरेका रोगको उपचार र औषधिका बारेमा जानकारी गराउने काम अभियानमा हुन्छ ।’ पिउने पानी, स्वच्छ वातावरणलगायतका बारेमा जनचेतना जगाउँदै धुमपान र मद्यपानविरोधी अभियान सञ्चालन गर्ने उनले बताए । अपाङ्गता कार्ड नभएकालाई कार्ड बनाएर उपचारमा सहयोग गर्ने उनको भनाइ छ ।

चितवन ३ मा राष्ट्रिय प्रजातनत्र पार्टीका उम्मेदवार विक्रम पाण्डे ३५ हजार ५५ मतसहित विजयी भएका हुन् । डा. अधिकारीलाई पनि चितवनका जनताले राम्रो मत दिएका छन् उनले राप्रपाका उम्मेदवार पाण्डेलाई कडा टक्कर दिएको थियो । डा. अधिकारीले २५ हजार ८२२ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस