विद्यालय तहको पाठ्यपुस्तकलेखन : सिद्धान्त र व्यवहार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विद्यालय तहको पाठ्यपुस्तकलेखन : सिद्धान्त र व्यवहार


१३ मंसिर २०७९, मंगलबार


पृष्टभूमि

औपचारिक शिक्षाको कुनै कक्षा विशेषका लागि तोकिएको विषयको पाठ्यक्रममा आधारित भएर विद्यार्थीले प्रयोग गर्ने गरी बनाइएको पाठ्यसामग्री नै पाठ्यपुस्तक हो । विद्यालय तहको औपचारिक शिक्षामा पाठ्यपुस्तकको प्रयोग संसारभर प्रचलित छ ।पाठ्यपुस्तक विद्यार्थीका लागि लक्षित गरी लेखिएको भएता पनि पाठ्यक्रम र शिक्षक निर्देशिका उपलब्ध नभई अध्यापन गराउने अवस्थामा शिक्षकहरूको लागि समेत उपयोगी छ । पाठ्यपुस्तककै भरमा मात्र शिक्षण गर्ने शिक्षकका लागि होस् या यसलाई सिकाइ सामग्रीका रूपमा प्रयोग गर्ने विद्यालय हुन्, पाठ्यपुस्तकको सही संयोजनले सिङ्गो सिकाइ कार्यलाई डोर्‍याउँछ । पाठ्यपुस्तक, विषय विज्ञ र अनुभवी शिक्षकहरूको समूहद्वारा विकास गरिन्छ । पाठ्यपुस्तक विकास विशुद्ध प्राविधिक कार्य हो । तोकिएको पाठ्यक्रममा आधारित भएर तयार हुने पाठ्यपुस्तकमा विद्यार्थीको उमेर, सिकाइ सिद्धान्त, शिक्षण विधि, सामग्री र सिकाइ समयलाई ख्याल गरिन्छ । पाठ्यपुस्तक विकास समूह कार्य हो जसमा धेरै जना विज्ञले फरक फरक दृष्टिकोणबाट योगदान गरेका हुन्छन् ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले पाठ्यक्रम विकास केन्द्रलाई पाठ्यपुस्तकहरूको स्तरीयता, गुणस्तर एवम् सान्दर्भिकताको परीक्षण गरी बहु पाठ्यपुस्तक प्रयोगमा ल्याउन सक्ने गरी जिम्मेवार बनाए बमोजिम संस्थागत विद्यालयहरूले विभिन्न तह र कक्षामा निजी क्षेत्रले पाठ्यसामग्री तयार गरी पाठ्यक्रम विकास केन्द्रको स्वीकृति लिई प्रयोगमा ल्याउने गरेको अभ्यास छ ।यसरी मुलुकले बहु पाठ्यपुस्तक प्रयोग गर्ने नीति अङ्गीकार गरेका कारण एउटै पाठ्यक्रममा आधारित बहु पाठ्यपुस्तकको विकास भएको अवस्था छ ।त्यस्तै गरी विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले विद्यालय तह (विशेष गरी आधारभूत तह कक्षा १-८) को मातृभाषा वा स्थानीय विषयवस्तुमा आधारित पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण कार्यमा स्थानीय सरकारलाई समेत जिम्मेवार बनाएको छ । विद्यालय तहमा प्रयोग गरिने सबै पाठ्यपुस्तक विकासका काम सकेसम्म स्वदेशी विशेषज्ञद्वारा नै गरिएको हुनु पर्ने व्यवस्था गरिएको छ । उच्च शिक्षामा भने विद्यालय तहमा जस्तो पाठ्यपुस्तक विकास गर्ने काम कुनै विश्वविद्यालयले गर्दैन । बजारमा उपलब्ध भएका पुस्तकहरू मध्येबाट धेरै हदसम्म उपयोगी हुने पुस्तक र सन्दर्भ सामग्रीहरूको प्रयोग गर्न सिफारिस गरिन्छ ।  

नेपालको अर्थ व्यवस्था सार्वजनिक निजी साझेदारीतामा आधारित छ । नेपालका बिस प्रतिशत भन्दा बढी विद्यार्थीहरू निजी विद्यालयमा पढ्छन् । निजी विद्यालयमा पढ्ने प्रायः सबैजसो विद्यार्थीले सबै कक्षामा निजी प्रकाशनका पाठ्यसामग्रीको प्रयोग गर्छन् । हाम्रो देशमा विद्यालय तहमा प्रयोग हुने पाठ्यपुस्तक विकासको काम पाठ्यक्रम विकास केन्द्रले गर्दछ । यस कार्यमा विषय विज्ञहरूको सामूहिक सहभागिता रहन्छ । माध्यमिक तहमा इच्छा अनुसार छनोट गर्नकालागि ऐच्छिक समूह तर्फ धेरै विषयहरू राखिएका छन् । यसरी तय गरिएका विषयहरूको पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्रले एक्लै तयार गरेको छैन । यस कार्यमा निजी क्षेत्रको उल्लेखनीय सहभागिता छ । निजी प्रकाशन गृहले तयार गरी स्वीकृतिका लागि पेस गरेका  पाठ्यसामग्रीको स्तर हेर्दा गम्भीर बन्नु पर्ने अवस्था पाइन्छ । पाठपुस्तकको विकास सम्बन्धी विषयवस्तु शिक्षा शास्त्र भित्रको महत्त्वपूर्ण विधा भएता पनि यो विषयले शिक्षाका प्रयोगकर्ताहरू माझ प्राथमिकता नपाउँदा पाठ्यसामग्री विकासमा सहभागी निजी क्षेत्र अन्योलमा रहेको पाइएको छ ।पाठ्यपुस्तक विकासको स्थापित ढाँचाको पालना र यस भित्रको विषयवस्तु संयोजनको गाम्भिर्यतालाई पर्याप्त ध्यान नपुर्‍याई निजी क्षेत्रबाट पाठ्यपुस्तक लेखनको कार्य भएकोले यस कार्यसँग जोडिएका पक्षको ध्यान आकृष्ट गर्ने हेतुले यो लेख तयार भएको छ ।यो लेख विद्यालय तहका लागि निजी क्षेत्रबाट तयार गरिएको पाठ्यपुस्तक विकास  प्रक्रियामा सुधार गर्ने विषयसँग मात्र केन्द्रित छ ।

पाठ्यपुस्तक के हो?

नेपालमा कानुनी दस्ताबेजमा पाठ्यपुस्तकको आधिकारिक परिभाषा नभएता पनि प्राज्ञिक क्षेत्रमा यसको अर्थ र परिभाषा भेटिन्छन् । मेरियम वेवस्टरको शब्दकोशका अनुसार कुनै एक विषयको अध्ययनका लागि प्रयोग गर्ने पुस्तक नै पाठ्यपुस्तक हो । अनलाइन स्रोत टेकमिन्टका अनुसार पाठ्यपुस्तक त्यस्तो पुस्तक हो जसमा शैक्षिक वर्ष भरी पढाउन विद्यार्थीका लागि  चाहिने कुनै विषय वा पाठका बारेमा वृहत् सूचना हुन्छ । विद्यार्थीको सिकाई स्तर सुधारका लागि पाठ्यपुस्तकमा पाठ्यवस्तु, अभ्यास र मूल्याङ्कन खण्ड समावेश गरिएको हुन्छ । यो विद्यार्थीका लागि मात्र नभई शिक्षकलाई समेत शिक्षण सामग्रीकारुपमा प्रयोग गर्ने गरी तोकिएको पाठ्यवस्तुमा आधारित भएर पुरै शैक्षिकसत्रका लागि तयार गरिन्छ ।

पाठ्यपुस्तकले विभिन्न कक्षा र विषयकाबिच एकरूपता कायम गर्न मद्दत पुर्‍याउँछ । भारतको कोथारी शिक्षा आयोग (कोथारी एजुकेसन कमिसन) ले पाठ्यपुस्तकलाई विद्यार्थीको सिकाइका चाहनालाई प्रोत्साहन गर्न कुनै विषयवस्तुका दृष्टान्त समावेश गरी योग्य तथा सक्षम विशेषज्ञहरूद्वारा शिक्षकलाई समेत उपयोगी हुने गरी लेखिएको छपाइ सामग्रीका रूपमा चित्रण गरेको छ । युनेस्कोका अनुसार गुणस्तरीय सिकाइ आवश्यकता पूरा हुने गरी विद्यार्थीका लागि तयार पारिएको सूचनाको लिखित स्रोत जसमा कुनै विषय वा अध्ययनका क्षेत्रको पाठ्यवस्तुमा आधारित भई विद्यालय तहको सङ्गठित पाठ्यक्रमको क्रमबद्ध शिक्षणको आधार नै पाठ्यपुस्तक हो । आजकाल पाठ्यपुस्तकलाई अक्षरमा मात्र छपाइ गर्ने चलन भन्दा माथि गएर डिजीटलरुपमा, भिडियो सामग्रीका रूपमा, स्पर्श गरेर पढ्न सकिने र सुनेर पनि बुझ्न सकिने गरी आवाज भरेर समेत तयार गर्ने अभ्यास बढेको छ । माथिका परिभाषाबाट पाठ्यपुस्तक बारे सारमा निम्न कुरा भन्न सकिन्छ:

  • कुनै कक्षाको विषयगत पाठ्यक्रमका वस्तुलाई समेटेर बनाइएको आधिकारिक र साझा पाठ्य सामग्री
  • विद्यार्थीका लागि तयार पारिएको पाठ्य सामग्री
  • सिकारुको मनोविज्ञानलाई ध्यानमा राखी विज्ञसमूहद्वारा तयार पारिएको पाठको क्रमबद्ध सिकाइको आधार पुस्तक
  • विद्यार्थीको आवश्यकता र अवस्था अनुसार बिभिन्न रुपमा तयार पारिएको अध्ययन सामग्री

पाठ्यपुस्तकको प्रयोगबाट हुने फाइदा

पाठ्यपुस्तक तोकिएको पाठ्यक्रम कार्यान्वयनको सहयोगी सामग्री हो । यसले देशभरका सबै विद्यालयमा शिक्षण सिकाइका विषयवस्तुहरूको प्रवाहमा एकरूपतामा सुनिश्चित गर्छ । शिक्षक र विद्यार्थीमा ज्ञान, सिप, अभिवृत्ति र मूल्य मान्यताको स्थानान्तरण गर्छ । पाठ्यपुस्तकमा विद्यार्थीमा कुन पक्षको विकास गर्ने भनेर पाठ्यक्रमले अपेक्षा गरेका कुरा पूरा गर्न सघाउँछ र सिकाइलाई दिशा निर्देश गर्छ । पाठ्यक्रम उपलब्ध नभएको अवस्थामा सिकाइलाई निरन्तरता दिलाउँछ । शिक्षक नभएको अवस्थामा पनि विद्यार्थीले प्रयोग गर्न सक्छन् ।यसले शिक्षण निर्देशिकाको पनि काम गर्छ । सिकाइका सिद्धान्त अनुरूप अध्ययन सामग्री संयोजन गरिएको हुन्छ । यसले सिङ्गै शिक्षा प्रणालीको समय र शक्तिको बचत गर्छ ।

आकर्षक प्रस्तुतिका पाठ्यसामग्री बालबालिकाको हातमा सहजै उपलब्ध गराउन सकिन्छ । तीक्ष्ण, मध्यम र न्यून क्षमताका सिकारुलाई साझा अध्ययन सामग्री भएता पनि सिकारुको अवस्था र आवश्यकता बमोजिमका क्रियाकलाप गराइ सिकाइ गराउन सकिन्छ । अक्षर, चित्र, अभ्यास, प्रयोग, खोज, परियोजना कार्य  जस्ता माध्यमबाट सिकाइका अवसरहरू उपलब्ध गराउँछ । पाठ्यपुस्तकमा उत्कृष्ट भाषा शैली र प्रमाणित तथ्य मात्र प्रयोग हुन्छ । पाठ्यपुस्तकले सिकाइको शृङ्खला सिर्जना गर्दछ ।एउटा काको पाठ्यपुस्तकमा सोही कक्षाका अरू विषय र तल्ला तथा माथिल्ला कक्षाका विभिन्न विषयहरुकाबिच लम्बिए र क्षितिय सन्तुलन हुन्छ । यसलाई सामुहिक र व्यक्तिगत सिकाइका सामग्रीको रूपमा प्रयोग गर्न सकिन्छ ।

विद्यालय तहमा कुनै विषयवस्तुमा पाठ्यपुस्तकका माध्यमबाट बालबालिकाले बनाएका धारणा जिन्दगीभर सम्झनामा रहने हुन्छ । त्यसैले यसमा कुनै प्रकारको गल्ती हुन सुहाउँदैन । पाठ्यपुस्तकमा लेखिएका विषयवस्तु देशको कानुन, संस्कृति, अभ्यास, प्राकृतिक नियम, प्रमाणित तथ्य आदिसँग बाझिएको हुनु हुँदैन ।पाठ्यपुस्तकका माध्यमबाट स्थानीय महत्त्व र राष्ट्रिय भावनाको उजागर गराउँदै अन्तर्राष्ट्रिय भाइचाराको विकास गराउँछ ।कुनै पनि प्रकारका विभेदकारी शब्द र भाषाको प्रयोग नगरी गलत सन्देश फैलाउनबाट जोगाउँछ ।

नेपालमा पाठ्यपुस्तक लेखनको ईतिहास

नेपालमा अनौपचारिक सिकाइका क्रममा प्रयोग भएको प्रारम्भिक तहको सिकाई सामग्री बाह्रखरी हो । बाह्रखरीमा नेपाली वर्णमाला, अंग्रेजी वर्णमाला, अङ्कगणित, तमसुक, ज्योतिष र बिल भर्पाई सम्मका एकीकृत पाठ्यसामग्री राखिएका थिए । यो नेपालको मौलिक पाठ्यपुस्तक थियो । ठुलो वर्णमाला, सानो वर्णमाला र बाह्रखरीका नामबाट चिनिने ती सामग्रीको लेखन फरक फरक लेखकद्वारा गरिएका हुन्थे । हाल यो सामग्री बजारमा उपलब्ध छैन । बाह्रखरीको विस्थापन औपचारिक शिक्षाको सहजता र नेपालमा प्रारम्भिक कक्षाका बालबालिकाका लागि तयार पारेका पाठ्यपुस्तकको सर्वत्र उपलब्धता पछि भएको हो । नेपालमा राष्ट्रिय शिक्षा पद्धतिको योजना पूर्व विद्यालयहरूमा प्रयोग गरिने पाठ्यसामग्रीहरूमा एकरूपता थिएन । नेपाली भाषामा धेरै सामग्री नभएकाले अंग्रेजी र संस्कृत भाषाका पाठ्यसामग्रीमा विद्यार्थीहरू निर्भर रहनु पर्थ्यो । अंग्रेजी, हिन्दी र संस्कृत माध्यमका धेरै सामग्रीहरू भारतबाट ल्याइन्थे ।

परम्परागत संस्कृत वा गुरुकुल शिक्षामा संस्कृतका पाठ्यसामग्रीहरू (बुद्धिचानक, दुर्गाकवच, चण्डी, रुद्री, हितोपदेश-मित्रलाभ, अमरकोष, लघुशिद्धान्त कौमुदी, वेद, भागवत गीता आदि) प्रयोग हुन्थे । तत्कालीन अवस्थामा अध्यापन गराउने गुरुहरूले जुन जुन पुस्तक पढ्नका लागि सिफारिस गर्थे ती नै पाठ्यपुस्तक हुन्थे ।  राष्ट्रिय शिक्षा पद्धतिको योजना, २०२८ लागू भएपछि नेपालमा समुदाय स्तरमा छरपस्ट रूपमा चलेका विद्यालयलाई मूलधारमा समेटी एकै प्रकारको पाठ्यक्रम कार्यान्वयन गर्ने क्रममा पाठ्यक्रम, पाठ्यपुस्तक तथा निरीक्षण विकास केन्द्रको स्थापना गरी राष्ट्रिय स्तरका पाठ्यपुस्तक विकास तथा प्रयोग गर्ने व्यवस्था गरियो । विद्यालय शिक्षालाई विभिन्न तहमा विभाजन गरियो । कुनै पनि पाठ बाल मनोविज्ञान बमोजिम शिक्षण गर्नु पर्छ त्यसका लागि विद्यार्थीको रुचि र स्तर समेटिएको विषयगत पाठ्यपुस्तक चाहिन्छ भन्ने विचार स्थापित भयो । त्यसपछि तहगत रूपमा पढाइने विषयगत पाठ्यपुस्तक तथा पाठ्यसामग्रीको लेखन एवं विकास गर्ने काम विज्ञको समूहबाट गरिनु पर्छ र यस कार्यका लागि विषयगत समितिको आवश्यकता पर्दछ भन्ने अवधारण आयो ।

आज सरकारी स्तरबाट तयार गरिने पाठ्यपुस्तक विकासको काम नेपालका विश्वविद्यालयमा अध्यापन गरेका तोकिएको विषयसँग सम्बन्धित वरिष्ठ प्राध्यापकले नेतृत्व गरेको विषयगत समितिबाट वरिष्ठ शिक्षक वा पाठ्यक्रम विज्ञको सामूहिक प्रयत्नबाट हुन्छ । यसरी लेखिने पाठहरूको सङ्ग्रह सहितको पाठ्यपुस्तक कक्षा शिक्षणको अनुभवमा आधारित हुन्छ र पुस्तक पूर्णरुपमा लागू गर्नु पूर्व केही विद्यालयमा परीक्षण गरी प्रयोगकर्ताबाट औँल्याइएका सुझावहरूको सम्बोधन गरी परिमार्जन गरिन्छ । यद्यपि यसबाट पनि सुधारका स्थानहरू अझै देखा पर्ने भएकोले वार्षिकरुपमा आंशिक सुधार गरिन्छ । तर निजी स्तरबाट पाठ्यपुस्तककारुपमा विकास गरिएका सामग्रीको तयारीमा विज्ञ समूहको सामूहिक प्रयत्न, समय लगानी र पूर्व परीक्षणको अभावका कारण धेरै त्रुटिहरू फेला पर्ने गरेका छन् । त्यसैले पाठ्यक्रम विकास केन्द्रले त्यस्ता सामग्रीको प्रयोग गर्नु पूर्व विषय विज्ञको समूह मार्फत मूल्याङ्कन गराउने अभ्यास छ । पाठ्यपुस्तकको विकास गर्नु पूर्व सम्बन्धित पक्षले यसबारेमा राम्रो जानकारी राखेमा मात्र बनाइएको सामग्रीले सही अर्थमा पाठ्यपुस्तकको रुपधारण गर्दछ र मेहनत तथा लगानीको सदुपयोग हुन्छ ।पाठ्यपुस्तकमा लेखिएको सन्देशले एउटा विद्यार्थीको जीवनभर छाप छोड्दछ ।

पाठ्यपुस्तकको विकासमा जोडिने पक्ष र प्रक्रियाहरु

विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले सङ्घीय सरकारका तर्फबाट नमुना पाठ्यपुस्तक विकास गरिने कुरा उल्लेख भएता पनि हाल सम्म नेपालमा विद्यालय तहको आधारभूत तहको एक विषय बाहेक पाठ्यपुस्तक विकास गर्ने वा आधिकारिकता प्रदान गर्ने काम पाठ्यक्रम विकास केन्द्रमा निहित छ । पाठ्यपुस्तक विशेष गरी औपचारिक शिक्षाको साधारण, तहगत, कक्षागत र विषयगत सक्षमता / सिकाइ उपलव्धि हासिल गराउन तोकिएको पाठ्यांशमा आधारित भइ बनाइने शैक्षिक सामग्री भएकोले अधिकारप्राप्त निकायको सुपरिवेक्षणमा मात्र तयार गरिन्छ । विषय विशेषज्ञको सुपरिवेक्षणमा विषय विज्ञ तथा शिक्षकहरूले कक्षा शिक्षणका अनुभवलाई समेटी विद्यार्थीको उमेर, रुचि, क्षमता र सिकाई स्तरमा भएका विभिन्नतालाई ध्यानमा राखी सिकाइ प्रक्रियामा विभिन्न विकल्पहरू दिएर सामूहिक लेखनका माध्यमबाट पाठ्यपुस्तकको विकास गरिन्छ ।

पाठ्यपुस्तकको भाषा सम्पादन अर्को संवेदनशील काम हो जसले भाषिक त्रुटि न्यूनीकरण गर्न मद्दत पुर्‍याउँछ  लेखकद्वारा परिकल्पना गरिएका विषयवस्तुलाई चित्रका माध्यमबाट वा लेखकको प्रस्तुतिलाई सरल र आकर्षकरुपमा चयन गर्ने काम कला विज्ञद्वारा हुन्छ ।   पाठ्यक्रम विज्ञ, विषय विज्ञ, मनोवैज्ञानिक, शिक्षाविद्, विषय शिक्षक, मूल्याङ्कनविद्, भाषा विज्ञ र छविकार ( ले आउट डिजाइनर) आदिको संयुक्त प्रयासबाट मात्र एउटा पुस्तक तयार हुन्छ । पाठ्यपुस्तक लेखन एउटा लेख लेखेजस्तो सरर बग्दैन । यसले विभिन्न चरणहरू पार गर्नु पर्ने हुन्छ । लेखन, छलफल, पुनर्लेखन, संशोधन, परीक्षण जस्ता कार्यहरू बारम्बार दोहोर्‍याएर गर्नु पर्ने हुन्छ । अन्तिमिकरण गर्नु पूर्व आधिकारिक निकायमा पेस गरी विषय विज्ञद्वारा मूल्याङ्कन गरी दिएको सुझावको संशोधन गर्नु पर्छ । मूल्याङ्कनकर्ताले दिएको सुझावको सम्बोधन भएको प्रमाण पेस गरी आधिकारिक निकायबाट स्वीकृत भएको प्रमाण लिएपछि मात्र तयारी सामग्रीले पुस्तकको रूपमा छपाइमा जाने अधिकार पाउँछ ।

असल पाठ्यपुस्तक लेखनका सिद्धान्तहरू

असल पाठ्यपुस्तकले शिक्षाको साधारण उद्देश्य, तहगत उद्देश्य, कक्षागत उद्देश्य र विषयगत उद्देश्यलाई समेट्दछ । पाठ्यपुस्तक लेखन कार्य गरिरहँदा कसका लागि लेखिँदै छ भनेर सधैँ ध्यानमा राख्नु पर्छ । यसले भाषा, शैली, तथ्य, तथ्याङ्क र प्रस्तुति शृङ्खलाको शुद्धतालाई पालना गरेको हुनु पर्दछ ।  पाठ्यपुस्तकले विषयसँग सम्बन्धित सम्पूर्ण पाठ्यांशलाई समेटेको हुनु पर्दछ । यसका लेखकले पुस्तकमा उल्लेख गरिएका विषयवस्तुहरू शीर्षकसँग सान्दर्भिक भएको कुराको सुनिश्चित गर्नु पर्छ । पाठ्यपुस्तकमा लेखाइको प्रस्तुति सरल, मिठास, समावेशी, सम्बन्धित विषय क्षेत्रका शब्दावलीले भरिपूर्ण, सिकाइ शृङ्खलामा आधारित, जीवन्त र शुद्ध हुनु पर्छ । पाठ्यपुस्तक निष्पक्ष रहनु पर्छ । विषयवस्तुको प्रस्तुति तालिका, नक्सा र चित्रबाट समेत गरिनु पर्छ । यसमा उल्लेखित कुनै विषयवस्तु वा प्रस्तुतिले राष्ट्र, राष्ट्रियता, भाषा, धर्म, संस्कृति, लिङ्ग, शारीरिक,  मानसिक वा बौद्धिक अवस्था, आर्थिक र भौगोलिक अवस्था, सामाजिक मूल्य मान्यता जस्ता कुरामा सन्तुलन गुमाउनु हुँदैन ।  पाठ्यपुस्तकले सिकारुलाई सधैँ वैज्ञानिक चिन्तन राख्ने, खोजमूलक र सिर्जनात्मक बनाउनु पर्छ । पाठ्यपुस्तकमा समाविष्ट पाठ संख्या र क्रियाकलापको संयोजन शैक्षिक सत्रमा उपलब्ध समयलाई ध्यानमा राखी गरिन्छ । पाठ्यपुस्तकले तल्लो कक्षा र माथिल्लो कक्षाका वा एकै कक्षाका पनि विभिन्न विषयहरूका बिचको सन्तुलन गुमाउनु हुँदैन । पाठ्यपुस्तक विकास कार्य निरपेक्ष नभएर सापेक्षतामा हुन्छ ।पाठ्यपुस्तकमा लेखिएको विषयवस्तु सन्देशमूलक र पूर्ण हुनु पर्दछ । पाठ्यपुस्तक विकास कला र विज्ञान दुवै हो ।

पाठ्यपुस्तकका प्रमुख अङ्गहरू  

पाठ्यपुस्तकका प्रमुख तीन अङ्गहरू छन् – अग्र भाग, मुख्य भाग र अन्त्य भाग । अग्र भागमा वाह्यपृष्ट, विषय खुल्रनेगरी पुस्तकको नाम, कक्षा, लेखकको नाम, प्रकाशकको नाम, आधिकारिकता, मुद्रण कृतज्ञता र धन्यवाद जस्ता पक्षहरू पर्दछन् जसले पुस्तकका बारेमा साधारण जानकारी गराउँछ । मुख्य पाठ भागमा विषयसूची र पाठको प्रतुती पर्दछन् । मुख्य पाठमा पाठ शीर्षक, उद्देश्य, अर्थ, परिभाषा, पाठप्रस्तुती, चित्र, उदाहरण, क्रियाकलाप, परियोजना कार्य, र अभ्यास जस्ता विषयवस्तुहरू पर्दछन् । पाठ्यपुस्तकका विशेषतामा दुई पक्षबाट हेरिन्छ – बाह्य वा भौतिक पक्ष र भित्री वा शैक्षणिक पक्ष । भौतिक पक्षमा पुस्तकको आकार, बाइन्डिङ, मूल्य र सहज उपलब्धता र व्याकरणीय शुद्धता, शब्द र अनुच्छेदका बिचमा खाली ठाउँ, सजिलैसँग पढ्न सकिने अक्षरहरू, रङ्गिन पृष्टहरू, कागज र छपाइको मसीको गुणस्तर र आकर्षक डिजाइन पर्दछन् । त्यस्तै गरी शैक्षणिक पक्षमा पाठको संरचना, आकर्षक प्रस्तुति,  विद्यार्थीको उमेर सुहाउँदो भाषा शैली र शब्द भण्डार, चित्र, तालिका, उदाहरण, पाठ्यवस्तुको पूर्णरुपमा समावेश, विषयवस्तुको सान्दर्भिकता र पर्याप्तता जस्ता पक्षहरू पर्दछन् ।   

नेपालमा पाठ्यपुस्तक लेखनमा जोडिएका समस्याहरू

१. पाठ्यपुस्तक पाठ्यक्रम कार्यान्वयनको साधन हो । पाठ्यक्रम विकासका बारेमा गहन अध्ययन गर्न शिक्षा शास्त्रका औपचारिक कक्षामा पाठहरू समावेश गरिएको हुन्छ । नेपालका विश्वविद्यालयका कुनै पनि तहमा पाठ्यपुस्तक लेखन कसरी गरिन्छ भन्ने विषयमा छलफल गर्ने पाठ छैन । छिमेकी मुलुक भारतमा बिएडको कक्षामा पाठ्यपुस्तक विकासका बारेमा पढाइ हुन्छ । निजी क्षेत्र जसले दशौँ वर्ष देखी पुस्तक लेखन, प्रकाशन र वितरणको काम गरी आएका छन् तर उनीहरूले यस विषयमा कुनै प्रकारको कार्यशाला समेत चलाएका छैनन् । विषयवस्तुको मूल मर्म नबुझीकन पाठ्यपुस्तक लेखन तथा सम्पादन गरिनाले गुणस्तरीय पुस्तकको उत्पादन हुन सकेको छैन ।
२. नेपालका आम अभिभावकहरू पाठ्यसामग्रीमा सचेत छैनन् । विद्यालयमा उपलब्ध भएका सामग्रीमा पूरा विश्वास गरेर आफ्ना बालबालिकालाई निर्धक्क छोड्ने चलन छ । अभिभावकले गुनासो गरेको क्षेत्र भनेको निजी प्रकाशनका सामग्रीको मूल्य मात्र हो । धेरैजसो अभिभावक आफ्ना बालबालिकाका हातमा ठुलो आयतनको रङ्गिन पुस्तकलाई गुणस्तरीय शिक्षाको मानक ठानी निजी विद्यालयलाई आकर्षित भएका हुन् । पाठ्यक्रम र पाठ्यसामग्रीको विकासमा अभिभावकको सुझावको जरुरत पर्दछ जुन पक्षको यहाँ अभाव छ ।
३. निजी क्षेत्रबाट तयार गरी पेस गरिएको विद्यालय तहको एक विषयको पाठ्यपुस्तक कक्षा ४ देखी १२ सम्म गहिरिएर हेर्ने हो त्यसमा क्रमबद्धता तथा अन्तर्आवद्धता कहीँ न कहीँ छुटेको भेटिएको छ । तहगतरुपमा मात्र केही पाठ्यपुस्तक हेर्ने हो भने प्रस्तुतिको संरचनामा एकरूपता नभएको, कहीँ प्रस्तुतिमा सीमितता, कतै चित्र कमजोर त कहीँ तालिकीकरणको अभाव पाइन्छ । कतिपय ठाउँमा भाषिक अशुद्धि र अनुपयुक्त शब्दहरूको प्रयोग भएको फेला पर्ने गरेको छ । यस्तो अवस्थामा तयार भएको पाठ्यसामग्रीमा धेरै सुधार गर्नु पर्ने वा पुनर्लेखन गर्नु पर्ने अवस्था आएको छ ।
४. निजी क्षेत्रले तयार गरेका पुस्तकमा एकल लेखक वा कुनै कुनै अवस्थामा दुई जनाले तयार गरेको पाइन्छ । यो कार्य पाठ्यपुस्तक लेखनको विधि र प्रक्रिया विपरीत छ । पाठ्यपुस्तक लेखन विषयवस्तुमा लामो अध्यापन भएका व्यक्तिहरूको समूहबाट हुनु पर्नेमा बजारमा देखिएका लेखकहरूमा न्यूनतम योग्यताको अभावका कारण स्तरीय लेखन हुन सकेको छैन । पाठ्यपुस्तक विकास एउटा चरणबद्ध प्रक्रिया पनि हो र उपलब्धि पनि (प्रोसेस एण्ड आउटपुट बोथ) हो ।
५. पाठ्यसामग्रीमा विद्यार्थीको उमेर सुहाउँदो भाषा र विषयवस्तुको चरणबद्ध लेखाइ, त्यसलाई बुझाउन पर्याप्त ग्राफिक प्रस्तुति र मौलिक लेखन, विगतका पुस्तकको नक्कल र विद्यार्थीका लागि गरेर सिक्ने प्रशस्त अवसर नदिएका उदाहरणहरू समेत भेटिएका छन् ।
६. बजारमा भेटिएका पाठ्यपुस्तकमा कमजोर कागज, मसी, रङ्, र चित्रको प्रयोग, बिचबिचमा खाली ठाउँ नहुनु, कमजोर बाइन्डिङ राखिनु र अस्वाभाविक मूल्य राखिएको समेत पाइन्छ ।
७. यस्ता सामग्री विकासमा देशको विभिन्न भूगोलमा शिक्षण गरिरहेका होनहार शिक्षकहरूको सहभागिता र गुणस्तरीयता कायम गर्नका लागि नेपाली बजारमा शैक्षिक तथा प्राज्ञिक विषयमा मौलिक लेखनका क्षेत्रमा व्यावसायिकरुपमा प्रतिस्पर्धात्मक ढङ्गबाट लेखकको विकास पर्याप्त मात्रामा भएको देखिँदैन ।
८. पाठ्यपुस्तक विकास कार्यमा सम्बन्धित विषयमा विशेषज्ञता हासिल गरी अध्यापन समेत गरेका तथा पर्याप्त कार्यानुभव भएका व्यक्तिबाट हुनु पर्नेमा लेखक स्वयंको गुणस्तर कमजोर हुन जाँदा पाठ्यपुस्तक समेत कमजोर हुन पुगेको पाइन्छ ।
९. नेपालमा नयाँ पाठ्यक्रम लागु भएपछि शिक्षक र विद्यार्थीले थाहा पाउने माध्यम भनेको नयाँ पाठ्यपुस्तक नै हो । सङ्घीयता कार्यान्वयन पछिका दिनमा विद्यालय तहमा पाठ्यक्रम र पाठ्यपुस्तकको कार्यान्वयन प्रक्रियाका बारेमा गरिएको अभिमुखीकरण अपर्याप्त हुनु, स्थानीय तहबाट शिक्षाको संरचना साँघुरो हुँदा पाठ्यक्रम कार्यान्वयनको अनुगमन हुन नसक्नुले एकोहोरो सञ्चार प्रक्रियाका कारण पाठ्यक्रम कार्यान्वयन तथा पाठ्यपुस्तक प्रयोगमा के कमीकमजोरी छ र कसरी सुधार गर्न सकिन्छ भन्ने पक्ष ओझेलमा परेका छन् ।
१०. स्थानीय तहमा स्थानीय पाठ्यक्रम बमोजिम बनेका पाठ्यपुस्तक लेखनमा धेरै कमजोरीहरू फेला परेका छन् । स्थानीय स्तरमा पाठ्यपुस्तक तथा स्थानीय पाठ्यसामग्री लेख्नका लागि राष्ट्रिय स्तरका विज्ञको प्रयोग गरिनु हुन्न तर स्थानीय शिक्षकलाई पाठ्यपुस्तक लेखन तथा विकासका बारेमा राम्रोसँग तालीम दिएर र विज्ञको सुपरीवेक्षणमा मात्र यो काम लगाउँदा लेखिएको पुस्तकले स्तरीयता कायम गर्छ ।स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास स्थानीय शिक्षकका लागी अवसर हो भन्ने कुरालाई ख्याल राख्नु पर्छ ।
११. विद्यालयमा सबै विद्यार्थीहरूको अवस्था एकनास हुँदैन । कोहीमा दृष्टि अपाङ्गता हुन्छ भने कसैमा सुनाइ वा बोलाई सम्बन्धी अपाङ्गता । कोही छिटो सिक्न सक्ने हुन्छन् त कोही ढिलो सिक्ने । तयार भएको पाठ्यपुस्तक सबै अवस्थाका बालबालिकाका लागि उत्तिकै उपयोगी बनाउनु पर्दछ । सिकाइका लागि प्रशस्त विकल्पहरू दिइनु पर्दछ ।आजकाल यसका लागि सूचना प्रविधिको पनि सहयोग लिन सकिन्छ ।
१२. पाठ्यपुस्तक प्रमुखरुपमा विद्यार्थीलाई नै लेखिने भएकोले शिक्षकलाई आवश्यक पर्ने सबै सामग्री यसमा समावेश हुन सक्तैन । शिक्षकलाई पनि थप सामग्री खोज्न प्रेरणा जगाउने कार्य यसले गर्नु पर्दछ ।

पाठ्यपुस्तकको गुणस्तर कायम गर्न पाठ्यक्रम विकास केन्द्रले गरेका प्रयासहरू

 विद्यालय तहको पाठ्यपुस्तक विकासका लागि प्रमुख जिम्मेवार निकाय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र नै हो । आज सरकारी स्तरबाट नेपालमा अपनाइएका पाठ्यक्रम र पाठ्यपुस्तक विकासका प्रक्रियाहरूको विकास यसै केन्द्रले दशकौँको अभ्यासबाट गरेको हो ।  कक्षा १ देखी १२ सम्मका पाठ्यपुस्तकको विकास यसै केन्द्रको अगुवाइमा भएको छ । पाठ्यक्रम तथा पाठ्यसामग्री विकासका लागि अपनाइने प्रक्रियाका बारेमा माथि पनि उल्लेख भई सकेको छ ।  पाठ्यपुस्तक विकास प्रक्रियाका लेखन, छपाइ र वितरण गरी तीन कार्य सम्पन्न भएपछि मात्र पुस्तक विद्यार्थीको हातमा पुग्दछ । आजका दिनमा पाठ्यक्रम विकास केन्द्रले लेखनको काम मात्र गर्दै आएको छ भने छपाइ र वितरणको काम निजी क्षेत्रका प्रकाशक तथा वितरकहरू वा जनक शिक्षा सामग्री केन्द्रलाई दिँदै आएको छ । छपाइमा गुणस्तरीयता कायम गर्नका लागि गुणस्तरका सूचक समेत तोकिदिएको छ । पाठ्यक्रम विकास केन्द्रबाट जे जति सामग्री विकास गरिन्छन् ती सबै वेबसाइट मार्फत सबैको पहुँचमा पुर्‍याउने काम भएको पाइन्छ । यदाकदा विद्यालयहरूमा पाठ्यसामग्री समयमा उपलब्ध हुन नसकेको गुनासाहरू पनि नआएका होइनन् । निजी क्षेत्रलाई लेखन कार्यमा सहभागी गराउन समय समयमा अवसर दिने र उनीहरूले विकास गरेका सामग्रीको मूल्याङ्कन गर्ने परिपाटी समेत रहेको छ । पाठ्यक्रम विकास केन्द्रबाट र निजी प्रकाशनबाट समेत पाठ्यसामग्रीका रुपमा प्रकाशित हुने सामग्रीमा भाषिक तथा व्याकरणीय एकरूपता कायम  रहोस् भनी प्रकाशन शैली, २०७६ को विकास गरी प्रयोग गरिएको छ । पाठ्यक्रमको स्तरीयता सम्बन्धमा बजारमा गुनासाहरू आएकाले पाठ्यक्रम विकास केन्द्रले निजी प्रकाशन गृहहरूबाट तयार पारिएका पुस्तकहरूको मूल्याङ्कन विधि बढी वैज्ञानिक बनाउनु पर्ने सुझाव पाठ्यक्रमविद्हरूले गर्दै आएका छन् ।  

समाधानका सम्भावित उपायहरू   

माथि उल्लेख गरी सकिएको छ की पाठ्यपुस्तक विकास बहुविधाका विज्ञहरूको सामूहिक प्रयासबाट हुने चरणबद्ध कार्य हो । यो कार्यमा जोकोही मानिस जोडिन सक्दैनन् । योग्यता पुगेर पनि व्यक्तिलाई रुचि लागेन भने जवर्जस्ती जोडाउन सकिँदैन । यो कुनै प्रशासनिक काम नभई पूर्णरुपमा प्राज्ञिक काम हो । यसका लागि शैक्षिक बजारमा उपलब्ध हुने विभिन्न विषय क्षेत्रका उत्कृष्ट विज्ञहरूलाई निरन्तर अभिमुखीकरणको अवसर दिएर काममा जोड्नु पर्छ । सम्भावित लेखकलाई पाठ्यक्रमको कार्यान्वयनको अनुगमन कार्यमा जोड्नु पर्छ । कक्षा १२ को “शिक्षा र विकास” विषयमा असल पाठ्यपुस्तकका विशेषता र यसको गुणस्तरीय लेखाइका बारेमा पढाउने हेतुले पाठको सिर्जना गर्नुपर्दछ । समय समयमा उत्कृष्ट पाठ्यपुस्तक तथा पाठ्यसामग्री विकास कसरी गर्न सकिन्छ भनेर विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्र, विद्यालय र अभिभावका बिच छलफल कार्यक्रमको आयोजना गरिनु पर्छ । यसरी विकास गरिएका धेरै व्यक्तिको समूहबाट काममा साँच्चै जुट्ने भनेका थोरै मानिस हुन्छन् ।

प्राज्ञिक काममा जोडिँदा थोरै उपलब्धि जस्तो देखिने यस्ता काममा मानिसले धेरै समयको लगानी गर्नु पर्ने हुन्छ । यस काममा लाग्ने व्यक्तिलाई उचित पारिश्रमिकको व्यवस्था गर्दा केही आकर्षण बढ्छ । देशका विभिन्न भौगोलिक क्षेत्रका विषय शिक्षकलाई पुस्तक तथा पाठ्यसामग्री लेखनको कार्यशालामा सहभागी गराउँदा धेरैले अवसर पाउने सम्भावना बढ्छ । निजी क्षेत्रले नाफा कमाउने अभिप्रायले एकल लेखनमा थोरै पारिश्रमिक दिएर सिकारु लेखकबाट पुस्तक लेखाएको गुनासो सुन्न पाइन्छ । यसरी लेखाइएको पुस्तकमा गुणस्तरीयता पाइन्न । निजी प्रकाशन गृहले पनि पाठ्यपुस्तक निर्माणमा जनशक्ति विकास गर्नका लागि तालिम तथा कार्यशालाको आयोजना गर्न सक्छन् ।

असल पाठ्यपुस्तकका विशेषताहरू के हुन् भन्ने विषयमा अभिभावक र विद्यालयलाई सुसूचित गराउने हो भने कमसल प्रकारका पाठ्यपुस्तकको प्रवेश विद्यालयमा हुँदैन । यसले गुणस्तरीय लेखनको खोजी गर्दछ । छविकार तथा डिजाइनर जस्ता विशिष्ट सिपका व्यक्तिहरू खुल्ला बजारमा प्रशस्तै पाइन्छन् । पाठ्यपुस्तकमा नयाँ र मौलिक लेखाइ तथा चित्र हरूको प्रयोग गरी इन्टरनेटमा पाइने विदेशी सामग्रीको नक्कल लिने कार्य बन्द गरिनु पर्दछ । यसरी एउटा पाठ्यपुस्तकको प्रयोगबाट विद्यार्थीले सिक्ने र सिर्जनात्मक बन्ने अधिकतम अवसर पाउन सकुन् ।

सारांश 

हाम्रो सन्दर्भमा पाठ्यपुस्तकको विकल्प पाठ्यपुस्तक नै हो ।यो विद्यार्थीका लागै अति उपयोगी छ । पाठ्यक्रम, शिक्षक निर्देशिका र शिक्षक तालीम समेत नहुने अवस्थामा पाठ्यपुस्तक सिकाइको उपयोगी साधन हो । पाठ्यपुस्तकको  सन्देश र गुणस्तरमा गल्ती हुने छुट छैन । पाठ्यपुस्तक विकासले सिकारु, सिकाइ प्रक्रिया र सरल प्रस्तुतिलाई भुल्नु हुँदैन । स्तरीय लेखक समूहबाट मात्र स्तरीय पाठ्यपुस्तक विकासको अपेक्षा गर्न सकिन्छ । पाठ्यपुस्तक विकास र प्रकाशन र वितरण कार्यमा सरकारसँग निजी क्षेत्र पनि जोडिएकोले निजी क्षेत्रले पनि विषयगत मर्मको ख्याल राख्नैपर्छ ।  

सन्दर्भ सामग्री
१. पाठ्यक्रम विकास केन्द्र (२०७६)। प्रकाशन शैली, २०७६, सानोठिमी भक्तपुर ।
२. पाठ्यक्रम विकास केन्द्र (२०७६)। शिक्षा, कक्षा ९, सानोठिमी भक्तपुर ।
३. पाठ्यक्रम विकास केन्द्र (२०७८)। माध्यमिक तहको पाठ्यक्रम, सानोठिमी भक्तपुर ।
४. पाठ्यक्रम विकास केन्द्र (२०७८)। विज्ञान तथा प्रविधि कक्षा ९, सानोठिमी भक्तपुर ।
५. पाठ्यक्रम विकास केन्द्र (२०७९)। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६, सानोठिमी भक्तपुर ।
६. शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय (२०७९)। शिक्षाको सोचपत्र, सिँहदरवार काठमाडौँ ।
७. Characteristics of a textbook: video by Oxford University Press Southern Africa (https://www.youtube.com/watch?v=6-203gwrOLo).
८. K. Mahardika et al (2020). Characteristics of textbooks based on the sets(science, environment, technology, and society) of the respiratory system to improve the ability of junior high school students to multirepresentations J. Phys.: Conf. Ser. 1465 012069
९. M, Stephen, M. 5 Characteristics of A Good Textbook, Bright Classroom Ideas. Retrieved from internet

Tags :
प्रतिक्रिया दिनुहोस